१९ बैशाख २०८३, शनिबार 1777747468
Uncategorized

केन्द्रीय कमिटीमा १२० जना थप गर्दै माओवादी पुनः बहुपदीय प्रणालीमा फर्कने

सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय कमिटीमा १२० जना थप गर्दै पुनः बहुपदीय प्रणालीमा फर्कने भएको छ ।

आगामी ११-१३ पुसदेखि सुरु हुने प्रथम राष्ट्रिय सम्मेलनमार्फत बहुपदीय प्रणालीमा पुनः फर्कन लागेको हो ।

हाल कायम रहेको १ सय ७९ केन्द्रीय कमिटीमा १२० जना थप गरेर नयाँ संरचनामा जान लागेको हो । सम्मेलनबाट आउने २९९ केन्द्रीय कमिटीमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्षसहित १५ जना पदाधिकारी रहने गरी प्रस्तावित विधान बनाइएको छ ।

शान्ति प्रक्रियापछि मोहन वैद्य ‘किरण’ र बाबुराम भट्टराईको बखतमा बहुपदीय प्रणालीमा गएको माओवादी उनीहरु बाहिरिएसँगै लामो समयदेखि अध्यक्ष प्रचण्डको एकल नेतृत्वमा पार्टी सञ्चालन हुँदै आएको थियो ।

वैद्य, भट्टराई, सीपी गजुरेललाई उपाध्यक्ष र रामबहादुर थापालाई महासचिवको जिम्मेवारीसहित पहिलो संविधानसभाताका बहुपदीय प्रणालीमा पार्टी सञ्चालन गरेको थियो ।

तर, देवप्रसाद गुरुङको संयोजकत्वमा रहेको अन्तरिम विधान संशाेधन उपसमितिले १५ पदाधिकारीको संख्याको सिफारिस गरेपछि माओवादी पुनः बहुपदीयमा प्रणालीमा जान लागेको हो । १२४ केन्द्रीय सदस्य खुल्ला प्रतिस्पर्धाबाट आउने भए पनि दलित समुदायवाट ४५ जना, युवा ४८, मुस्लिम १५ जनालगायतको आरक्षण कोटा तय गरिसकेको छ ।

पदाधिकारी संख्या बढाउने कि नबढाउने तथा जातीय र समुदायगत आरक्षणको कोटा बढाउने बारेमा निष्कर्ष निकाल्न माओवादी स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी छ ।