१ मंसिर २०८१, शनिबार 1731820895
Banner

गठबन्धनलाई हराउँदै प्रत्यक्ष चुनाव जित्ने पहिलो भाग्यमानी जोडी बने महासेठ दम्पती

काठमाडौं । यस पटकको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष तर्फ चुनाव जित्ने पहिलो भाग्यमानी जोडी बनेका छन् रघुबीर महासेठ र जुली कुमारी महत्तो । धनुषा क्षेत्र नम्बर ३ बाट महासेठपत्नी जुलीकुमारी महतोले सहजै जित हासिल गरेपनि महासेठका लागि भने निकै नै कडा प्रतिस्पर्धा गर्नुपरयो । जुलीले ३३ हजार ३५५ मत ल्याएर निर्वाचित हुंदा सत्ता गठबन्धनका उम्मेदवार अनिल झा २३ हजार ६८६ मत प्राप्त गरेका थिए । महतोले अनिल झालाई ९ हजार ६६९ मतान्तरले पराजित गरिन ।

यता महासेठ भने झिनो मतान्तरले विजयी भएका छन् भर्खरै प्राप्त नतिजा अनुसार महासेठले ३२ हजार २३६ पाएर विजयी भएका छन भने कांग्रेसका सह–महामन्त्री महेन्द्रयादवले ३२ हजार ११२ मत पाएर पराजित भए । अर्थात महासेठले १२४ मतले पछि पार्दै यादवमाथि जित हासिल गरेका हुन् । महासेठ दम्पतीले चुनाव जितेसँगै संसदमा प्रत्यक्ष तर्फ श्रीमान श्रीमतीले चुनाव जित्ने पहिलो जोडी पनि बन्न सफल भएका छन् ।

यसपटकको निर्वाचनमा २ दम्पतीले प्रत्यक्षतर्फ टिकट पाएका थिए भने बाँकी ६ का श्रीमान् प्रत्यक्षतर्फ र श्रीमती समानुपातिक बन्दसूचीमा छन्।

यसपटक प्रत्यक्षतर्फ चुनावी मैदानमा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन रोल्पाबाट चुनावी मैदानमा थिए भने उनकी श्रीमती ओनसरी घर्तीले काठमाडौं २ बाट प्रतिस्पर्धा गरेकी थिइन । बर्षमानले चुनाव जिते भने ओनसरीले स्वतन्त्र उम्मेदवार सोविता गौतमसँग पराजित हुन परयो ।

यता, प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा डडेलधुराबाट चुनाव जितेका छन् भने श्रीमती आरजु राणा देउवा समानुपातिकको बन्द सूचीमा छिन्। कांग्रेसले निर्वाचन आयोगमा पेश गरेको विवरण अनुसार राणाको नाम खस आर्य महिलातर्फ तेस्रो नम्बरमा छ।

यस्तै, गृहमन्त्री बालकृष्ण खाँणले रूपन्देही ३ बाट प्रत्यक्ष चुनावमा हार व्योहोर्नु परेको छ भने उनकी श्रीमती मञ्जु खाँण समानुपातिक सूचीमा छिन्। खस आर्य महिला समूहको उनी छैठौं नम्बरमा छन्।

यस्तै, शिक्षामन्त्री रहेका माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल बागलुङ २ बाट चुनाव छन भने उनकी श्रीमती बलावती शर्मा समानुपातिक सूचीमा छिन्। उनको नाम खस आर्य महिला समूहको सातौँ नम्बरमा छ।

जनता समाजवादी पार्टीका नेता अशोक राई सुनसरी १ बाट चुनावी जितेका छन भने उनकी श्रीमती सुशीला श्रेष्ठ समानुपातिक सूचीमा छिन्।