२८ भदौ २०८३, आइतबार 1789282915
Banner

स्याङ्जा र बाजुराको निर्णय गर्न आयोगको बैठक बस्दै

काठमाडौँ – स्याङ्जा र बाजुरामा रोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन प्रक्रिया अगाडि बढाउन आज निर्वाचन आयोगको बैठक बस्ने भएको छ।

बाजुरा र स्याङ्जामा पुनः मतदान वा मतगणना सुरु गर्ने विषयमा आयोगले आज निर्क्यौल निकाल्ने भएको छ। यी दुई निर्वाचन क्षेत्रमा बुथ कब्जा गरेको आरोप कांग्रेस र एमालेले एकअर्कालाई लगाइरहेका बेला आयोग अनिर्णीत छ।

कांग्रेसले मतगणनामा र एमालेले पुनः मतदानमा जोड दिँदै आएको छ। आयोगका पाँच पदाधिकारीको संयुक्त बैठकले यसबारे निर्णय गर्नुपर्ने हुन्छ। आयोगको बैठक मंगलबार पनि बसेको थियो, तर कुनै निर्णय गर्न सकेन। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कानुनी परामर्श लिएर आज निर्णय हुनसक्ने बताए।

स्याङ्जा २ मा बुथ कब्जा गरेर मृत्यु भएका र विदेशमा रहेका मतदाताका नामबाट मतदान भएको दाबी गरिएको छ भने बाजुराको त्रिवेणी–७ को मतदानस्थलमा विवाद हुँदा प्रहरीको गोली लागेर सञ्जीव अयडीको मृत्यु भएको थियो। कांग्रेस समर्थित समूहको कुटपिटबाट अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अयडीको मृत्यु भएको थियो। यहाँ पनि बुथ कब्जाको आरोप लाग्दै आएको छ।