३ मंसिर २०८१, सोमबार 1731978699
Banner

बागमती प्रदेशमा सरकार गठनका लागि आह्वान

काठमाडौं-बागमती प्रदेश सरकार गठनको लागि आह्वान गरिएको छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको हो ।

प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गर्नुभएको हो । कुनै पनि दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरुसँगको सहकर्यामा सरकार गठनका लागि आह्वान गर्नुभएको प्रदेश प्रमुख कार्यालय हेटौंडाले जनाएको छ ।

निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको मितिले ३५ दिन भित्र सरकार गठन गरिसक्नु पर्ने संवैधानिक प्रावधान अनुसार प्रदेश प्रमुख शर्माले मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गर्नुभएको हो ।

११० सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि ५६ जनाको सांसदको समर्थन आवश्यक हुन्छ । बागमती प्रदेशसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको ३७ जना सांसद रहेका छन् भने एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, नेकपा एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद रहेका छन् ।