६ भदौ २०८३, शनिबार 1787447138
Banner

संसदीय गतिविधिमा सहभागी हुने कुरालाई पहिलो प्राथमिकतामा राख्न नवनिर्वाचित सांसदहरुलाई अध्यक्ष ओलीको निर्देशन

संसदीय गतिविधिमा सहभागी हुने कुरालाई पहिलो प्राथमिकतामा राख्न नवनिर्वाचित सांसदहरुलाई अध्यक्ष ओलीको निर्देशन
काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवम् पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय गतिविधिमा सहभागी हुने कुरालाई पहिलो प्राथमिकतामा राख्न पार्टीका नवनिर्वाचित सांसदहरुलाई निर्देशन दिनुभएको छ।

पार्टी संसदीय दलको बैठक र अन्य सबै संसदीय गतिविधिहरुको कामलाई प्राथमिकता दिएर अघि बढन अध्यक्ष ओलीले सांसदहरुलाई सचेत गराउनुभएको हो ।

शनिबारबाट काठमाडौंमा सुरु भएको पार्टीका सांसदहरुको २ दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले सांसद भएको हुनाले संसदीय गतिविधिको काममा ध्यान दिएर अघि बढन पार्टीका सांसदहरु केन्द्रित हुनुपर्ने बताउनुभयो। पार्टी संसदीय दलको बैठकमा र अन्य गतिविधिहरुमा पनि समयमै पुग्ने काम गर्नुपर्ने अध्यक्ष ओलीको भनाई थियो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘सबै थोक जानेको छु भनेर सम्झनुहुँदैन । सबै जानेको छु भन्ने सोच्यो भने मान्छे बिग्रन्छ । सबै थोक जान्दछौँ भन्ने सोच्यौँ भने त्यसले दिमागमा घर गर्छ । दिमागमा घमण्ड बस्न थालेपछि त्यहाँ बस्न सक्दैन । ज्ञान र घमण्ड कहिले पनि एकै ठाउँ बस्न सक्दैन । कि ज्ञान बस्छ कि घमण्ड बस्छ । दिमागमा ज्ञानलाई बस्न दिने हो भने तत्काल घमण्डलाई बाहिर निकाल्नुपर्छ । दिमागमा घमण्ड पस्न पाएको छैन भने पस्न दिनुहुँदैन ।’

उहाँले ज्ञानका लागि सधैँ दिमागको ढोका खुला राख्न आग्रह गर्नुहुँदै सबै सांसदहरूलाई विनम्र बन्न आग्रह गर्नुभयो ।