काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री डा.विमला राई पौडेलले परराष्ट्र मन्त्रालयले जनतामा पुर्याउने सेवा र सुविधालाई सहज बनाउने कामलाई आफूले पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ । मंगलवार परराष्ट्रमन्त्रीको शपथग्रहणपछि मन्त्रालयमा पदभार सम्हाल्दै मन्त्री पौडेलले जनतामा परराष्ट्र मन्त्रालयले पु¥याउने सेवा र सुविधालाई सहज बनाउन पहिलो प्राथमिकता दिने बताउनुभएको हो ।
उहाँले आफ्ना तीन प्राथमिकताहरु रहेको बताउनुभयो । पहिलो राहदानी, विदेशी कुटनीतिक नियोगहरुसँग सहकार्य गर्ने दोस्रो र तेस्रोमा विभिन्न देशमा रहेका राजदूतावासहरुमा नेपालीहरुको सहज पहुँच बनाउने आफनो प्राथमिकता रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो,नेपालको राजदूतावासमा मेरा देशका मान्छे आउँदा घरजस्तो फिल गर्नुपर्छ। मलाई पनि त्यस्तै फिल हुन्छ। बाहिर जाँदा नेपालको एम्बेसीभित्र छिर्दा घरजस्तो महशुस गर्नुपर्छ। बाहिर रहेका नेपालीलाई हाम्रो दूतावासमा आउन सहज पहुँच गराउन प्रयास गर्नेछु।
मन्त्री पौडेलले असंलग्न परराष्ट्रनीति अनुसार अघि बढने प्रतिवद्धता व्यक्त गर्नुभयो ।