काठमाडौं । भौतिक पूर्वाधार एवं यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग भारतीय विदेश मन्त्रालयका ‘आर्थिक सम्बन्ध तथा विकास साझेदार मामिला’ सम्बन्धी सचिव प्रभातकुमारले भेट गर्नुभएको छ । भारतीय सहयोगमा सञ्चालित विभिन्न विकास आयोजनाबारे बुझ्न नेपाल आउनुभएका सचिव प्रभातकुमारले सोमबार मन्त्रालय पुगेर मन्त्री श्रेष्ठलाई भेटनुभएको हो। उहाँले नेपालको विकासमा अर्थपूर्ण साझेदारी गर्न भारत सदैव तयार रहेको बताउनुभयो ।
त्यसक्रममा श्रेष्ठले घनिष्ट छिमेकीको रूपमा नेपालको विकास र समृद्धिका लागि सहयोग गरेको भन्दै भारतको प्रशंसा पनि गर्नुभयो । भेटमा भारतले लगानी गरेका केही पूर्वाधार आयोजना, रेल वे सञ्चालन र भारतीय एक्जिम बैंकको लगानीमा सञ्चालित केही सडक योजनाको प्रगतिका विषयमा समेत कुराकानी भएको थियो।