काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बचाउँ गदै निर्वाचन आयोगले छानविन गरेर चुनाव उठन योग्य छ भनेको व्यक्ति कसरी अयोग्य भयो भन्दै प्रश्न गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले त्यस्तो बताउनुभयो । उहाँले भन्नुभयो, “अदालतको फैसलाले कसलाई फाइदा भयो ? यहाँ ढोका खुला रहेछ भनेर फुत्त संसद् पसेको होइन । निर्वाचन आयोगमा उजुरी परेको र बदर गरेको होइन र ? निर्वाचन आयोगले उमेदवारी सदर गरेको होइन ? प्रक्रियागत त्रुटि हुनासाथ सांसद, गृहमन्त्री, सभापति गयो ? जान मिल्छ ?”
अदालतको फैसलाले कसलाई न्याय भयो भन्दै ओलीले आपत्ति जनाउनुभएको थियो ।
“फैसलाले न्याय भयो कि भएन ? लामिछानेलाई न्याय भएन भने कसले पायो न्याय ? फैसलामा कसले पायो न्याय ? यसको जानकारी चाहिँदैन ?,” ओलीले भन्नुभयो, “संस्था, व्यक्ति कि समुदाय ? बुझिनसक्नुखालको भयो । रवि लामिछानेसँग मेरो कुनै सम्बन्ध छैन । नाता सम्बन्ध पनि छैन । मेरो पार्टीको पनि होइन । तर एउटा नागरिकको हैसियतले शुक्रबार बेलुकी देखि आइतबार बिहानसम्म नागरिकता के हो ? नागरिकता के भयो ? मैले राम्रो बुझेको छैन । आइतबार बेलुका फेरि पुरानै मितिको पुरानै नागरिकता जारी छ ।”