२७ जेष्ठ २०८३, बुधबार 1781073014
Banner

रास्वपालाई सरकारमा आउन उच्चस्तरीय राजनीतिक संयन्त्रको आग्रह

काठमाडौं । सत्ता साझेदार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः सरकारमा आउन आग्रह गरिएको छ। बालुवाटारमा बसेको बैठकमा छलफलको एजेण्डा रास्वपालाई सरकारमा ल्याउने बारे पनि रहेको सहभागी एक नेताले बताए।

तर, यसमा रविले दिएको जवाफबारे केही बताइएको छैन । सरकारबाट बाहिरिएको रास्वपाले समर्थन भने कायमै राखेको छ।

बैठकमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सहभागी थिए। जसपा, जनमत र नागरिक उन्मुक्तिका नेता भने उपस्थित भएनन्।

२ महिना नपुग्दै रास्वपा बाहिरिनु, राष्ट्रपतिमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको अडान लिनुजस्ता विषयमा गठबन्धनमा खटपट देखिएको छ। हिजोमात्र नागरिक उन्मुक्तिले विश्वासको मत नदिँदा एमाले नेतृत्वको सुदूरपश्चिम सरकार ढलेको छ। आजको बैठकमा प्रचण्ड सरकारको पूर्णता, राष्ट्रपतिको निर्वाचनलगायतको विषयमा पनि छलफल हुने भनिएको थियो।