१३ श्रावण २०८३, बुधबार 1785328954
Banner

सांसद अरुण चौधरीको कैद मिनाहा, भोलि रिहा हुँदै

कैलाली । कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित अरुण चौधरी भोलि रिहा हुँदै छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको अवसरमा ३९५ जना कैदीको सजाय माफी गरिदिएकी छन्।

सोही सूचीमा नागरिक उन्मुक्तिबाट निर्वाचित सांसद अरुण चौधरीको नाम पनि समावेश रहेको नागरिक उन्मुक्तिको उच्च स्रोतले जानकारी दिए। चौधरीले माफिका लागि राष्ट्रपतिलाई निवेदन पनि पेस गरेका थिए।

२०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित ३ जना विरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो। ६ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई १९ गते प्रहरीले पक्राउ गरेको थियो।

चौधरीले सुनुवाइको मौका समेत नदिएर फैसला गरेको भन्दै २२ गते उच्च अदालत दिपायलमा उत्प्रेषण परमादेश र २७ मा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरेका थिए। दुबै रिटमा अन्तरिम आदेश भएन।

त्यसपछि प्रजातन्त्र दिवसको अवसरमा उनलाई छुटाउने तयारी गरिएको हो। २०६६ भदौ ३ मा ट्याक्टर जलाएको र कैद भुक्तान नगरेको भन्दै पक्राउ परेका वीर बहादुर चौधरीलाई सजाय मिनाको तयारी गरिएको छ।