२८ असार २०८३, आइतबार 1783886976
Banner

आजदेखि राष्ट्रपतिको निर्वाचनमा प्रचार प्रसार गर्न निषेध

काठमाडौं । निर्वाचन आयोगले आजदेखि राष्ट्रपतिको निर्वाचन प्रचार प्रसार गर्न निषेध गरेको छ । आज फागुन २२ गते राति १२ बजेदेखि मतदानको दिन फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्मका लागि प्रचारप्रसार निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ ।

यो अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न निषेध गरिएको छ। यसैगरी उम्मेदवाको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न पनि पाइँदैन।

आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जीत-हारको पूर्वानुमानका सामग्रीहरु प्रसारजस्ता कार्य गर्न नहुने भएको हुँदा यस्ता आचरणहरु पालना गर्न–गराउन सम्बन्धित सबैलाई आयोगले आग्रह गरेको छ ।

‘मुलुकको सर्वोच्च र गरिमामय पद राष्ट्रपतिको निर्वाचनमा निर्वाचन कानून र आचारसंहिताको पालना गराई निर्वाचनको स्वच्छता र मर्यादा कायम गर्न आयोग सम्बन्धित सबैलाई हार्दिक आग्रह गर्दछ,’ विज्ञप्तिमा लेखिएको छ ।