१७ असार २०८३, बुधबार 1782918973
Banner

गौतमबुद्ध विमानस्थलबाट जजिराको उडान पुनः सुरु

काठमाडौं । साढे दुई महिनापछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एयरलाइन्सले उडान सुरु गरेको छ । कुबेतबाट बिहीबार बिहान ६६ जना यात्रु लिएर आएको जजिराको विमान ८ बजेर ५ मिनेटमा ९९ जना जना यात्रु लिएर उडेको हो।

विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार जजिराले अब हप्तामा तीन दिन मंगलबार, बिहीबार र शनिबार नियमित उडान गर्ने छ। जेठ २ गते विमानस्थल उद्घाटनसँगै सोही दिनबाट उडान सुरु गरेको जजिराले मौसमको कारण देखाउँदै पुस ६ (२१ डिसेम्बर) देखि उडान रोकेको थियो।

यसअघि जजिराले फेब्रुअरी २ तारिखदेखि उडान सुरु गर्ने आश्वासन दिए पनि उडान भएको थिएन।

अन्तर्राष्ट्रिय उडान रोकिंदा विमानस्थललाई लक्षित गरेर होटेललगायत पर्यटन क्षेत्रमा भएको ४० अर्ब बढी लगानीले प्रतिफल पाउन नसकेको भन्दै व्यवसायीहरु चिन्तित बनेका थिए।