२८ भदौ २०८३, आइतबार 1789333555
Banner

माओवादी घटकले आज २ बजे संयुक्त पत्रकार सम्मेलन गर्दै

काठमाडौं । विस्तृत शान्ति सम्झौता विपरीतका गतिविधिको सामूहिक प्रतिवाद गर्ने निर्णय गरेका माओवादी घटकहरुले आज संयुक्त पत्रकार सम्मेलन गर्दैछन् ।

दिउँसो २ बजे प्रज्ञा भवन कमलादीमा पत्रकार सम्मेलन आयोजना गरिने तय भएको छ ।

द्वन्द्वकालीन घटनाको मुद्दामा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएपछि नजिकिएका माओवादी घटकहरुको फागुन २६ गते बसेको बैठकले २८ गते संयुक्त पत्रकार सम्मेलन र ३० गते अन्तर्क्रिया गर्ने निर्णय गरेको थियो । त्यसअघि फागुन २३ गते बसेको बैठकले विस्तृत शान्ति सम्झौता विपरीतका गतिविधिको सामूहिक प्रतिवाद गर्ने निर्णय गरेको थियो।

नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलका अनुसार द्वन्द्वकालीन घटनासँग सम्बन्धित मुद्दा नियमित अदालतबाट नभई सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगबाट टुंगो लगाउनुपर्छ भनेर पत्रकार सम्मेलन गर्न लागिएको हो।

अन्तर्क्रिया पनि सोही विषयमा केन्द्रित हुनेछ। अन्तर्क्रियामा माओवादी घटकका नेताहरुका साथै नागरिक समाज, कानुन व्यवसायी, पत्रकार र शान्ति प्रक्रियासँग सम्बन्धित सरोकारवाला सहभागी हुने गजुरेलले बताए।

प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिट्टै समाजवादी केन्द्र घोषणा हुने बताइरहेका बेला हुन लागेको संयुक्त पत्रकार सम्मेलनलाई चासोका रुपमा हेरिकएको छ।