८ मंसिर २०८१, शनिबार 1732418587
Banner

लिग २ : यूएईविरुद्ध नेपालको ब्याटिङ सुरु

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अन्तिम शृङ्खलाको दोस्रो खेलमा नेपालले यूएईविरुद्ध ब्याटिङ सुरु गरेको छ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन्। शृङ्खलाको पहिलो खेलमा पनि नेपालले पीएनजीविरुद्ध ब्याटिङ गर्दै उच्च स्कोर बनाएको थियो ।

आजको खेलमा पनि ‌ओपनर जोडी कुशल भुर्तेल र आसिफ शेखले ओपनिङ गरेका छन् । शृङ्खलाको पहिलो खेलमा यो जोडिले पीएनजीविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको थियो । आसिफले शतक प्रहार गरेका थिए ।

आजको खेलमा नेपाली टोलीमा केही परिवर्तन गरिएको छ। ब्याटर ज्ञानेन्द्र मल्ल र बलिङ अलराउण्डर करण केसी प्लेइङ ११ मा छैनन्। उनीहरूको ठाउँमा ललित राजवंशी र गुलशन झा छन्।

आजको खेल जित्दै नेपाल दुई खेलअघि नै ओडीआई मान्यता जोगाउने लक्ष्यमा छ । पहिलो खेलमा पपुवा न्युगिनीलाई पराजित गरेको नेपाल त्यही लय कायम राख्दै लगातार जित निकाल्ने लक्ष्यमा छ।

नेपालले लिग टु मा अहिलेसम्म यूएईसँग ४ खेल खेल्दा नेपालले एक पटक मात्र यूएईलाई पराजित गरेको छ ।

यस्तै नेपालले लिग टु को शीर्ष तीनमा रहेर सीधै विश्वकप क्वालिफायर्समा स्थान बनाउन बाँकी तीनवटै खेल जित्नुपर्नेछ । त्यसैले पनि नेपालका लागि आजको खेल महत्वपूर्ण छ ।

रोहित पोडेल, दीपेन्द्र ऐरी, आसिफ शेख, सोमपाल कामी, कुशल भुर्तेल, ललित राजवंशी, भीम शार्की, कुशल मल्ल, आरिफ शेख, गुलशन झा र सन्दीप लामिछाने