काठमाडौं । नेपाल खेलकुद महासङ्घ, राष्ट्रिय जुडो सङ्घ र नेपाल जुडो सङ्घको संयुक्त आयोजनामा शुक्रबार र शनिबार नेकोस छैटौँ अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता हुने भएको छ ।
नयाँबजारस्थित एमएमएसी हलमा आयोजना हुने दुई दिने प्रतियोगितामा सबक्याडेट (१५ वर्षभन्दा मुनि), क्याडेट (१५ देखि १८ वर्षमुनि) र जुनियर (१५ देखि २१ वर्षमुनि) गरी तीन उमेर समूहमा प्रतिस्पर्धा हुने नेपाल खेलकुद महासंघको उपाध्यक्ष धर्म कुमार श्रेष्ठले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा सभापतित्व नेपाल खेलकुद महासंघका अध्यक्ष पर्शुराम बस्नेतले गर्नुभएको थियो ।खेलाडीको उमेर अङ्ग्रेजी क्यालेन्डर अनुसार मापन गरिएको पनि श्रेष्ठले बताउनुभयो । प्रतियोगिता अघि चैत १ र २ गते रेफ्री सेमिनार र तेस्रो भेट्रान्स जुडो प्रतियोगिता हुनेछ ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा भुटान र जापानसहित नेपालका विभिन्न जिल्लाहरू बाँके, दाङ, कास्की, मकवानपुर, सोलुखुम्बु, काभ्रे, ललितपुर, भक्तपुर, पर्सा तथा काठमाडौंसहित उपत्यकाभित्र रहेका विभिन्न क्लब, डोजो, विद्यालय, कलेज, सङ्घसंस्था समेत १९ टिमको सहभागिता रहनेछ ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई जुनियरतर्फ क्रमश ः राष्ट्रिय टिम ‘ए’, टिम ‘बी’ र टिम ‘सी’ बनाइने बताइएको छ । प्रतियोगितामा महिला तर्फ एक सय चार र पुरुषमा एक ४९ गरी कुल दुई सय ५३ जनाले प्रतिस्पर्धा गर्ने कुराको जानकारी नेपाल खेलकुद महासंघको सचिब तथा प्रबक्ता तिर्थ बहादुर खड्काले दिनु भएको छ।