३० असार २०८३, मंगलबार 1784063358
कला/साहित्य

फिल्म व्यापारमा मात्र केन्द्रित हुँदा गुणस्तर खस्कियो : सञ्चार मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले घरेलु फिल्मको पछिल्लो अवस्थाबारे चासो व्यक्त गरेकी छन् । फिल्मको संख्याभन्दा गुणस्तरमा ध्यान दिनुपर्ने समय आएको उनले बताइन् । व्यापारमा मात्र केन्द्रित हुँदा गुणस्तर खस्किएको उनको भनाइ छ ।

नेपाली चलचित्र क्षेत्रका संघसंस्थाका निर्वाचित कार्यसमितिलाई बधाई दिन निर्माता संघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले फिल्मको गुणस्तर वृद्धिमा जोड दिएकी हुन्। ‘चलचित्र क्षेत्र मनोरञ्जनको साधन मात्र होइन, यो सन्देश प्रवाहको माध्यम पनि हो। चलचित्र निर्माण गर्दा विषयवस्तु, सन्देश र कला पक्षको सन्तुलनमा बराबरी ध्यान दिनु आवश्यक छ,’ उनले भनिन्।

नेपाल प्राकृतिक हिसाबले सुन्दर र सांस्कृतिक हिसाबले विविधतायुक्त मुलुुक भएकाले यसलाई राम्रोसँग फिल्ममा प्रस्तुत गरेर राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा प्रचार गर्न सके फिल्मको माध्यमबाट देशको समृद्धिमा ठूलो योगदान गर्न सकिने विश्वास पनि उनले व्यक्त गरिन्। फिल्म क्षेत्रमा भइरहेका कामहरुको समीक्षा हुनुपर्ने भन्दै मन्त्री शर्माले फिल्म क्षेत्रमा महिलालाई प्रोत्साहन गर्नुपर्ने जरुरी रहेको बताइन्।