८ मंसिर २०८१, शनिबार 1732420353
समाचार

तनहुँ १ उपनिर्वाचन: मतगणनास्थलमा सिसिटिभी जडान

तनहुँ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि वैशाख १० मा हुन लागेको उपनिर्वाचनका लागि मतगणनास्थल निर्माण सुरु भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्ला समन्वय समितिको भवनमा मतगणनास्थल निर्माण गरेको हो।

मतगणनालाई निष्पक्ष र विश्वसनीय बनाउन मतगणनास्थलमा सिसिटिभी जडान गरिएको मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिनुभयो।

उहाँका अनुसार दुईवटा कोठामा मतगणना गरिनेछ । मतगणनास्थल निर्माणका लागि आवश्यक तारजालीको व्यवस्था गरिसकिएको छ । “तारजालीसहित मतगणनास्थल तयार गर्दैर्छौं, दुवै कोठामा सिसिटिभी जडान भइसक्यो । आज बेलुकासम्म तारजाली बारेर गणनास्थल तयार हुन्छ”, उहाँले भन्नुभयो।

निर्वाचन आयोगले दिएको निर्देशनबमोजिम सुरक्षित रुपमा मतगणनास्थलका लागि गणनास्थल तयार पारिने उहाँले बताउनुभयो। “सबैलाई चित्तबुझ्दो गर्ने गरी भरपर्दो, सुरक्षित बनाउन आयोगले दिएको निर्देशनबमोजिम मतगणनास्थल बनाउँछौ,” उहाँले भन्नुभयो।

आइतबार मतदान सकिएपछि सुरक्षितरुपमा सबै मतदान केन्द्रबाट मतपेटिका दमौली ल्याइनेछ । मतपेटिका ल्याइसकेपछि राजनीतिक दलसँगको सर्वदलीय बैठकपश्चात् मतगणनाको काम सुरु गरिनेछ ।