बारा- बारा क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा जनता समाजवादी (जसपा)का उपेन्द्र यादव विजयी हुनुभएको छ । यादवले २८ हजार ४ सय १५ मत प्राप्त गर्दै विजयी हुनुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
उहाँका निकटम प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार ३ सय ३४ मत प्राप्त गर्नुभयो । यादवले कुशवाहालाई ५ हजार ८१ मत अन्तरले पराजित गर्नुभएको हो ।
त्यस्तै नेकपा एमालेका पुरुषोत्तम पौडेलले १० हजार २ सय १६ मत प्राप्त गरी तेस्रो स्थान प्राप्त गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले भने २ हजार ८ सय २९ मत मात्र प्राप्त गर्नुभयो ।
बारा-२ मा कुल ६९ हजार १ सय ७ मत खसेको थियो । यसअघि बारा-२ का प्रतिनिधिसभा सदस्य रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि यस क्षेत्रमा उपनिर्वाचन भएको हो ।