१७ असार २०८३, बुधबार 1782938282
Banner

माओवादी व्यवहारका कारण गठबन्धन टिक्छ कि टिक्दैन भन्ने प्रश्न उठ्यो : माधव नेपाल

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले माओवादीको व्यवहारका कारण गठबन्धन टिक्छ कि टिक्दैन भन्ने प्रश्न उठेको बताएका छन् । सुर्खेतमा बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले माओवादीको व्यवहारको आलोचना मात्र नभई निन्दा गर्न मन लाग्ने बताए।

माओवादीको यस्तैयस्तै खालका प्रवृत्तिहरु हुर्किंदै जाँदा गठबन्धन टिक्छ कि टिक्दैन भन्ने प्रश्न उठेको उनको भनाइ छ। उनले माओवादीको व्यवहारले मर्माहित भएको समेत बताए ।

‘हामी गठबन्धन टिक्छ भनिरहेका छौं । टिकाउँछौं भनिरहेका छौं । टिकाउने क्षमता, खुबी र हिस्सेदारी हामीसँग छ भनिरहेका छौं,’ उनले अघि भने, ‘तर हामीलाई पीडा दिने खालको व्यवहार देखिसकेपछि हामी मर्माहत भएका छौं ।’

खासगरी कर्णालीमा आफ्नो पार्टीलाई पूरै बेवास्ता गरिएको भन्दै अध्यक्ष नेपालले माओवादीको व्यवहारप्रति आपत्ति जनाए । कर्णालीमा माओवादीले गरेको व्यवहार आफूहरुलाई स्वीकार्य नहुने अध्यक्ष नेपालले चेतावनीसमेत दिए ।

माओवादी अध्यक्ष प्रचण्ड, प्रदेशका नेताहरुलाई सम्बोधन गर्दै उनले भने, ‘ प्रचण्ड जीलाई भन्न चाहान्छु, तपाईंहरुले जसरी हामीलाई बेवास्ता गरेर सरकारमा एकलौटी गर्नुभएको छ, यो हामीलाई स्वीकार्य छैन।’