२७ भदौ २०८३, शनिबार 1789272943
Banner

सचिव रायमाझी पक्राउ पछि एमालेको प्रतिक्रिया, ‘अनुसन्धानमा सघाउँछौँ’

काठमाडौँ । नेकपा एमालेले नक्कली शरणार्थी प्रकरणमा मुछिएका पार्टी सचिव टोपबहादुर रायमाझीमाथिको अनुसन्धानमा सघाउने प्रतिबद्धता जनाएको छ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले कानुनको कार्यान्वयन गर्न र दोषीलाई कानुनको कठघरमा ल्याउन पार्टीले सहयोग गर्ने नीति रहेको बताए।

‘हामी छानबिनमा सघाउँछौ, घटनाको गहिराइमा पुग्नुपर्छ भन्ने नै एमालेको प्रारम्भिक धारणा हो’, उपमहासचिव ज्ञवालीले भने, ‘दोषीहरू जोसुकै भए पनि कारबाहीको दायरामा आउनुपर्छ।’

उनले यस्ता घटनामा राजनीतिक रङ्ग दिने काम गर्न नहुने समेत बताए। ‘गल्ती भनेको गल्ती नै हो राजनीतिक रङ्ग दिने काम गर्नु हुँदैन’ ज्ञवालीको भनाइ छ। उनले घट्नाबारे पार्टीले आन्तरिक रूपमा अध्ययन अनुसन्धान समेत गर्ने जानकारी दिए।

नक्कली डकुमेन्टका आधारमा भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काममा जोडिएको भन्दै सचिव रायमाझीविरुद्ध बुधबार वारेन्ट जारी भएको थियो। उनलाई प्रहरीले बिहीबार भैरहवाबाट पक्राउ समेत गरिसकेको छ।