काठमाडौँ — नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तलाई बचाउन आफू नलागेको बताउनुभएको छ ।
सिंहदरबारमा प्रधानमन्त्री दाहाललाई भेटेपछि निस्किने क्रममा ओलीले सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा आफूविरुद्ध हल्ला फैलाइएको बताउनुभएको हो । अभियुक्तलाई बचाउन खोज्नुभएको छ भन्ने आरोप छ नि ? भन्ने प्रश्नको जवाफमा ओलीले भन्नुभयो, तपाईंहरूलाई विश्वास लाग्यो त्यस्तो कुरा ? केही यस्ता खालका मान्छेहरू छन्, त्यस्ताहरूले हल्ला फैलाएका हुन् ।’ उहाँको भन्नुभयो ।
ओलीले प्रधानमन्त्री दाहालसँग थप के विषयमा छलफल भयो भन्ने विषयबारे भने बताउनुभएन । त्यस्तै, नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पूर्जी जारी भएपछि फरार रहेका एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझी कहाँ छन् भन्ने प्रश्नको जवाफमा ओलीले भन्नुभयो, तपाईंहरूले खोज्नु न ? रायमाझी आफ्नो सम्पर्कमा नरहेको पनि ओलीको भनाइ थियो ।