काठमाडौं । बेलायतका राजा राजा चार्ल्स र रानी क्यामिलाको राज्य अभिषेक हजार करोडभन्दा बढी खर्च हुने बताइएको छ । चाल्र्सको राज्य अभिषेक आज हुँदैछ ।
रिपोर्टका अनुसार राज्याभिषेकका लागि एक हजार करोडभन्दा बढी खर्च लाग्ने जनाइएको छ । समारोहमा राजा चार्ल्स ७०० वर्ष पुरानो सेन्ट एडवर्डको कुर्सीमा बस्नेछन् भने उनको अभिषेकको लागि १२ औँ शताब्दीको सुनको चम्चा र पवित्र तेल प्रयोग गरिने बताइएको छ।
वेस्टमिन्स्टर एबे चर्चमा दिउँसो ३ः ४५ (नेपाली समय अनुसार) उनीहरूको राज्य अभिषेक हुन लागेको हो । यसअघि सन् १९५३ मा महारानी एलिजाबेथको राज्य अभिषेकको ७० वर्ष पश्चात् हुन लागेको यो समारोहलाई विश्व समुदायले चासोका साथ हेरेको छ ।
समारोहमा प्रधानमन्त्री ऋषि सुनक र उनकी पत्नी अक्षता मूर्तिले झण्डा बोक्नेहरूको काफिले नेतृत्व गर्नेछन्। आज बेलायतमा मौसम खराब रहने चेतावनीका बाबजुद राज्याभिषेक हुने क्षेत्रमा मानिसहरूको बाक्लो उपस्थिति रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रिन्स ह्यारी, ड्यूक अफ ससेक्स, समारोहको लागि पत्नी मेगनबिना शुक्रवार लन्डन पुगिसकेका छन् । समारोहमा उनको कुनै औपचारिक भूमिका भने रहने छैन ।
यस्तै राजा चार्ल्सका भाइ प्रिन्स एन्ड्र्यूलाई पनि राज्याभिषेक समारोहमा कुनै भूमिका दिइएको छैन। सेक्स स्क्यान्डलमा फसेपछि चार्ल्सले उनलाई शाही परिवारबाट निष्कासन गरेका थिए।
गत वर्ष सेप्टेम्बर ८ मा महारानी एलिजाबेथको निधनपछि चार्ल्सलाई बेलायतको राजा घोषित गरिएको थियो।