१० मंसिर २०८१, सोमबार 1732529470
पालिका

वडामा भएको सार्वजनिक जग्गा जोगाउन चुनौती छ : बिरेन्द्र प्रजापति

२०७९ साल वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट स्थानीय तहले नयाँ जनप्रतिनिधि पायो । एकै चरणमा भएको चुनावले काँग्रेस एमाले माओवादी साथै अन्य दलहरुले नयाँ–नयाँ जनप्रतिनिधि चुने । काठमाडौं महानगरपालिकाका ३२ वटा वडा मध्ये नेपाली काँग्रेसले १९ नेकपा एमालेले १२ र नेकपा समाजवादीले १ वटा वडा अध्यक्षमा आफनो जित हासिल गर्न सफल भयो । काठमाडौं महानगरपालिका वडा नम्बर ५ मा एमालेका उम्मेदवार बिरेन्द्र प्रजापतिले जित हासिल गर्न सफल भए । अहिले वडा अध्यक्षका रुपमा निर्वाचित भएर १ बर्षे कार्यकाल पुरागर्न लाग्दा काठमाडौं महानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बिरेन्द्र प्रजापतिसँग वडा अध्यक्षको रूपमा रहेर काम गर्दाको अनुभव, समीक्षा, समस्या र आगामी योजनाका बारेमा कविता अधिकारीले गरेको कुराकानी :

वडा अध्यक्षको रुपमा काम गर्न कत्तिको सहज भईरहेको छ ?
काम गर्न गाह्रो छ भन्न मिलेन, हामी जनताका प्रतिनिधि भएकाले सबैको चित्त बुझ्ने गरी काम गछौं भनेर नै निर्वाचित भएका हौं । हामी निर्वाचित भएर आएको एक बर्ष पुग्न लागिसकेको छ । वडामा बिभिन्न समस्या बोकेर वडावासीहरु आउनुहुन्छ । कानुनी झण्झटहरु पनि हुन्छन त्यसमा सम्झाएर गर्न मिल्ने नमिल्ने कुराहरुका बारेमा जानकारी गराउँछौ । गर्न मिल्ने भए गरिदिन्छौ नमिल्ने भए यो यो प्रकृया पुरा गरेर आउनुस भन्छौ । वडावासीसँग छलफल गरेर काम गर्दा सहज रुपमा नै अगाडि बढिरहेको छ ।

तपाई निर्वाचित भएर आउनुभएको एक बर्ष पुग्न लाग्यो, जनताले महसुस गर्ने काम के के गर्नु भयो ?
हामीले गर्ने काम भनेको जनताकै लागि हो । शिक्षा स्वास्थ्य सरसफाई ढल लगायतका कार्य अगाडि बढदा जनताले राम्रो नै महसुश गर्नुभएको छ भन्ने मैले ठानेको छु । भर्खरै एक बर्ष पुराहुने क्रममा छ । हामीले यो बर्षमा चुनावी अभियानका क्रममा बोलेका प्रतिवद्धताहरु पुरा गर्ने तर्फ नै केन्द्रित भएका छौ । ५ बर्षमा गर्ने कार्य एकै वर्षमा पुरा हुँदैन । त्यही हो काम तिब्र रुपमा अगाडि बढिरहेको छ ।

निर्वाचित भएर आईसकेपछि हामी बजेट बनाउने कार्यमा लाग्यौ । बजेट बनाउन झण्डै २,३ महिना लाग्यो । बजेट बनाईसकेपछि त्यसको कार्यविधि, खर्चको विवरण खरिद विनियमावली, लागतको स्टीमेट बनाउन समय लाग्यो । हामीले गर्ने काम जनतालाई आवश्यकता अनुसार उहाँहरुले मागेको काम हामीले गर्ने हो । हामीले यो गछौ त्यो गछौ भनेर मात्रै हुँर्दैन हामी त बजेट बनाउने कुरामा पनि उहाँहरुसँग टोल टोलमा गएर छलफल गरेर बजेट बनाउँछौ । नयाँ आर्थिक बर्ष शुरु हुन लागिसकेको छ । यो आर्थिक बर्षको बजेटमा पनि वडावासीसँग सुझाब लिएका छौ । हामीले यो बर्षमा गरेको कामपनि सार्वजनिक गछौ ।

कामको दौरानमा कस्ता कस्ता समस्याहरु आए ?
कामको दौरानमा सवैभन्दा समस्या भनेको कानुनी झण्झट नै हुन । खरिद विनियमावलीले काम गर्न रोकेको छ । अब सिसि क्यामेराकै कुरा गरौंन सिसि क्यामेरा जडान गर्न भनेर हाम्रो वडाले ५० लाख बजेट छुटयाएको पनि थियो, कानुनी झण्झटका कारण राख्न सकेनौं । वडामा पैसा छ तर खर्च गर्न पाएको छैन । मैले पनि नियमभित्र बस्न परयो । खरिद नियमावलीका कारण काम रोकियो । हामीले सोचेको टार्गेट अनुरुप काम भएको छैन । राखेको पैसा चलाउन नसक्दा अब केन्द्रले नै सिसि क्यामरा जडानको काम गरिरहेको छ ।

वडा कार्यलयमा कर्मचारीहरु नहुने, कार्यालय समयमा उपस्थित नहुँदा सेवाग्राहीले झण्झट ब्योहोर्नु परेको पनि सुनिन्छ, तपाईको वडा कार्यलयमा त्यस्तो समस्या छ कि छैन ?
यहाँ गुनासो छैन किनभने हामी प्रत्यक्ष स्थानीयवासीसँग सँगै बसेर काम गरिरहेका हुन्छौ । उहाँहरु काम परेपछि हामीलाई भेटन आउनुहुन्छ । हामी कागजपत्र हेरेर उहाँहरु कुन सेवाको लागि आउनुभएको हो त्यो सेवाको लागि छिटो छरितो होस भन्ने मै लागिरहेका छौ त्यसैले हाम्रो वडामा त्यस्तो समस्या छैन ।

वडाको विकासका लागि थप के–के योजना अगाडी सार्नु भएको छ त ?
यो वडा भनेको काठमाण्डौ महानगरपालिकाको ३२ वटा वडा मध्येकै छुटटै पहिचान बोकेको वडा हो । संस्कृति सम्पदाले भरिएको पुरानो लिच्छविकालिन शहर हो । त्यसमाथि हाँडिगाउँको बेग्लै विशेषता पनि छ । पुरातात्विक हिसावले यहाँ भएको सांस्कृतिक सम्पदाको संरक्षण गर्न खोजिरहेका छौं । कहाँ–कहाँ मठमन्दिर छन त्यसको अध्ययन गरिरहेका छौ । अध्ययन गरिसकेपछि त्यसको रिपोर्ट आउँछ रिपोर्ट आईसकेपछि हामी कुन शिर्षकमा के गर्दा राम्रो हुन्छ वडाका विज्ञहरुसँग छलफल गरिसकेपछि हामीले एकबर्षभित्र कति काम गर्ने सकिन्छ त्यसलाई छुटयाएपछि आगामी बजेटमा योजना बनाएर पास गर्ने तयारीमा पनि छौ । बाटो, ढल बनाउनु ठुलो कुरा भएन यो हुँदै जाने प्रकृया हो तर हामी चाहि विशेष गरि लिच्छवीकालिन, पुरातात्विक, सांस्कृतिक सम्पदाको संरक्षण गर्नेमा लागिपरेका छौ ।

कामको सिलसिलामा कस्ता कस्ता चुनौतीहरु पाउनुभयो ?
चुनौती त खासै त्यस्तो छैन । पहिलो कुरा त हामीले समस्या बुझनु परयो । समस्या बुझेन भने चुनौती हुन्छ बुझयो भने हुँदैन । अब हाम्रो वडाको चुनौती भनेको सार्वजनिक जग्गा धेरै छ त्यसलाई जोगाउनु नै चुनौती भईरहेको छ ।
वडामा मात्रै ५०/६० रोपनी सार्वजनिक जग्गा रहेको छ । यहि जग्गाको संरक्षण गदै जोगाउनुपर्छ भन्ने अभियानमा छौ ।

तपाईको कार्यकालमा तपाईको वडालाई कस्तो बनाउने योजना रहेको छ ?
मेरो कार्यकालमा स्वच्छ हराभर भएको हाँडिगाउँ, मठ मन्दिर भएको हाँडिगाउँ, त्यो वाहेकका बनाएका योजनाहरु पुरागर्ने, पुरानो लिच्छवीकालिन शहर भन्छौ ५ नम्बर वडा तर पर्यटकले हेर्ने ठाउँ छैन । हामी त्यसको योजना बनाईरहेका छौ । राम्रो पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजना रहेको छ । हाडिगाउँमा भएको मठ मन्दिरको बारेमा जानकारी गराउँदै पर्यटकलाई घुम्ने व्यवस्था मिलाउने सोचमा छौ । धार्मिक पर्यटकिय क्षेत्रका रुपमा रहेकाले वडालाई पर्यटक घुमाउनका लागि पर्यटकिय क्षेत्रको संरक्षण गदै छोटकरीमा हेर्ने व्यवस्था गर्दैछौ । धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने योजना बनाईरहेका छौ ।

के के छन तपाईको वडामा पर्यटकले आएर हेर्नका लागि ?
हाम्रो हाँडिगाउँ डवलीमा लिच्छवीकालिन पुरानो सिला देखाउँछौ । कैलाशकुट भवन छ, सत्यनारायण मन्दिर छ, मनमनेश्वरी मन्दिर, भाटभटेनी मन्दिर, भानु गणेश मन्दिर लगायत धेरै मन्दिरहरु यहि वडामा पर्छ । पर्यटकहरु यहि बाटो हुँदै पशुपतिनाथ मन्दिर जान्छन, बौद्ध जान्छन अब हाम्रै वडाको लिच्छविकालिन शिलाहरु हेर्न पनि पर्यटकहरु आउँछन भन्ने हामीलाई लागेको छ त्यसमाथि पनि कहिँ नभएको जात्रा हाँडिगाउँमा भन्छन तर त्यो यथार्थ हो जुन बेला नेपाल अधिराज्यभरि कहि जात्रा नहुँदा हाँडिगाउँमा हुन्थ्यो, त्यो अहिलेसम्म पनि चलिरहेको छ, त्यो जात्रा हेर्नपनि पर्यटक आउँछन । यो पनि विशेष महत्व नै छ । जात्रा हेर्न पनि पर्यटकहरुका लागि उत्सुकता नै छ । गहना खोज्ने जात्रा,लामा जात्रा, गणेश जात्रा, सरसस्वती जात्रा, भगवती जात्रा, कृष्ण जात्रा, गाईजात्रा लगायत धेरै जात्रा छन । यस्तो अनौठो जात्रा हेर्न जो कसैलाई पनि उत्सुकता हुन्छ नी ।

तपाईकै कार्यकालमा यो वडालाई पर्यटकीय क्षेत्र बनाउने सोच छ ?
हो म मेरै कार्यकालमा काठमाडौं महानगरपालिकाको वडा नम्बर ५ लाई पर्यटकीय क्षेत्रका रुपमा अगाडि बढाउछु भन्ने लागेको छ । यसको अध्ययन भईसकेको छ अब खाका बनाएर कार्यान्वयनमै लैजान्छौ । योजना बनाईसकेपछि बजेट राख्छौ र काम शुरु गछौ ।