१२ श्रावण २०८३, मंगलबार 1785243969
Banner

खाणलाई निलम्बन गर्ने की नगर्ने विषय छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेपछिको स्थितिबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ।

धुम्बाराहीस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा दिउँसो २ बजे बस्ने बैठकमा केन्द्रीय सदस्य खाँणलाई निलम्बन गर्ने कि नगर्नेलगायतका विषयमा छलफल हुने एक नेताले जानकारी दिए।

नेपालीहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पुर्याउने गिरोहसँग लेनदेनमा संलग्न भएको आरोपमा खाणलाई बुधबार चाबहिलस्थित मनमैजुस्थित निवासबाट प्रहरीले पक्राउ गरेको थियो। उनीमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले तीन दिनको म्याद दिएको छ।

खाँण पक्राउ परेलगत्तै देउवाले खाण निकटका कांग्रेस नेताहरुसँग छलफल गरेका थिए। त्यसपछि शीर्ष नेताहरुसँग देउवाले छलफल गरेका थिए । बुधबारको बैठकमा खाणलाई निलम्बन गर्ने कि नगर्ने भन्ने विषयमा छलफल भए पनि निर्णय हुन सकेको थिएन।

महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्मा भने खाँणलाई निलम्बन गर्नुपर्ने पक्षमा छन्। बुधबार पार्टीका शीर्ष नेताहरुसँगको छलफलमा बिहीबार पदाधिकारी र पूर्वपदाधिकारीसहितको बैठक बसेर निर्णय गर्ने भनेर नेताहरु देउवा निवासबाट बाहिरिएका थिए।