४ भदौ २०८३, बिहिबार 1787249219
Banner

राज्यको ढुकुटी अनुचित ढंगले खल्तीमा हाल्नु भनेको भ्रष्टाचार हो : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्यको ढुकुटी अनुचित ढंगले खल्तीमा हाल्नु भनेको भ्रष्टाचार भएको बताएका छन् । च्यासलमा बिहीबार भएको केन्द्रीय समिति बैठकमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अर्थतन्त्रमा समस्या भएका बेला सरकाले लडाकुलाई पैसा दिने निर्णय गरेको भन्दै उनले यस्तो बताएका हुन् । अहिलेको सरकारले एकलौटी निर्णय गरेर नेकपा माओवादी केन्द्रका पूर्वलडाकुलाई पैसा दिन लागेको ओलीले बताए ।

‘विकास निर्माणका काम अबरूद्ध छन्। यस्तो बेलामा बहिर्गमित लडाकु, क–कसलाई भनेर फेरि २ लाख रुपैयाँ बाँड्ने भन्ने एकलौटी निर्णय गरेर माओवादी केन्द्र नेतृत्वको सरकार अघि बढ्न खोजिरहेको छ,’ उनले भने, ‘सरकारबाट बलजफती निर्णय गराउने र फेरि एक लाख ५० हजार त्यो कार्यकर्तालाई दिने अनि बाँकी आफैँ लिने। लडाकु शिविरका सवालमा पनि त्यस्तो भएको थियो।’

लडाकु शिविरमा नभएका मानिसका नाममा पैसा बुझेको अवस्थासमेत रहेको ओलीले बताए।

‘राज्यको ढुकुटी अनुचित ढंगले खल्तीमा हाल्नु भनेको भ्रष्टाचार हो। जो सुकैले गरेको होस्,’ उनले भने, ‘राज्यको अबौं हिनामिनाको अख्तियारले छानबिन गर्नुपर्छ। खुट्टा नकमाउनुस्। किन खुट्टा कमाएर बस्नुहुन्छ ?’