१४ श्रावण २०८३, बिहिबार 1785422928
Banner

नीति तथा कार्यक्रममाथि ओलीले आज संसद्मा सम्बोधन गर्ने

काठमाडौं। सरकारको नीति तथा कार्यक्रममाथि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गर्ने भएका छन् ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले शुक्रबार ल्याएको नीति तथा कार्यक्रमले मुलुक र मुलुकको अर्थतन्त्रलाई गति दिन नसक्ने भन्दै आज विरोधसमेत जनाउने छन्।

प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका अध्यक्ष ओलीले सो नीति तथा कार्यक्रमलाई पार्टीले पारित गर्न नसक्ने धारणा पनि आज बस्ने प्रतिनिधिसभा बैठकमा राख्ने छन्।

‘मुलुकलाई सही दिशा दिनका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम बेकारको पुलिन्दा हो, स्वीकार योग्य छैन, समर्थन योग्य छैन। विरोध योग्य छ। र, यस्तो फाल्तु कार्यक्रम, नीतिका नाममा दस्ताबेज पेस हुनु दुःखको कुरा हो,’ ओलीले शनिबार बसेको संसदीय दलको बैठकमा भनेका थिए, ‘यसर्थ, यसलाई पास गर्न मिल्दैन, हुँदैन। यसको विरोध गर्नुपर्छ। हाम्रो मुख्य पोजिशन त्यही हो।’