३१ जेष्ठ २०८३, आइतबार 1781444297
समाचार

काभ्रे म्यादीमा भर्नाकालागि आवेदन दिनेको भीड

काभ्रे- स्थानीय तह निर्वाचनका लागि खुलाएको म्यादी प्रहरीमा भर्नाका लागि आवेदन खुल्ला गरिएसँगै सरकारले तोकेको मापदण्ड पुरा भएका व्यक्तिहरुले दरखास्त दिन भीड लागेको छ ।

सरकार आइतबारदेखि ७७ वटै जिल्ला प्रहरी कार्यालयमार्फत आवेदन दिन पाइने भएसँगै काभ्रेको धुलिखेलमा म्यादीमा दरखास्त दिन भीड लागेको हो ।

देशमा बढ्दो बेरोजगारीका कारण म्यादीमा प्राय यूवापुस्ताको भीड लागेको छ । शैक्षिक योग्यता भएर पनि उचित रोजगारीको अवसर नपाएका यूवाहरु बढीजस्तो म्यादीमा दरखास्त दिन आएको बताउँछन् ।

कोही यूवापुस्ता भविष्यमा सुरक्षा निकायमा जागिर खान सजिलो होस् भनेर र त कोही यूवा व्यवहारिक आवश्यकता परिपूर्ति गर्न म्यादीमा भर्ना हुन आएको बताउँछन् ।

आसन्न स्थानीय तहको निर्वाचनको लागि काभ्रे जिल्लामा १४ सय ९५ म्यादी प्रहरी माग गरिएकोमा म्यादीमा भर्ना हुन दरखास्त दिनेको संख्या दिनानुदिन बढ्दो रहेको जिल्ला प्रहरी कार्यालय काभ्रका प्रमुख प्रहरी उपरिक्षक चक्रराज जोशीले जानकारी दिनुभयो ।

म्यादी प्रहरीमा भर्ना हुनका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले म्यादी प्रहरीमा भर्नाका लागि आगामी चैत ११ गतेसम्म आवेदन दिन सक्नेछन् । भर्ना हुन अन्य स्वास्थ्य मापदण्ड प्रहरी जवान सरह हुनुपर्ने सूचनामा उल्लेख छ ।