१० श्रावण २०८३, आइतबार 1785051983
Banner

नेपाल र पलाउबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौं : नेपाल र फिलिपिन्सको दक्षिणपूर्व प्रशान्त महासागरमा अवस्थित देश गणतन्त्र पलाउबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। योसँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध भएका देशको संख्या १७४ पुगेको छ।

कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्तपत्रमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र उक्त विश्व संस्थाका लागि गणतन्त्र पलाउका स्थायी प्रतिनिधि इलाना भिक्टोरिया सेडले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा सोमबार आयोजित एक संक्षिप्त समारोहमा हस्ताक्षर गरेका छन्।

दुवै देशका राजदूतले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापनाबारे जानकारी गराउने संयुक्तपत्रमा पनि हस्ताक्षर गरेका न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले आज जनाएको छ।

त्यस अवसरमा दुवै राजदूतले दुई देशको पारस्परिक हितका लागि राष्ट्रिय तथा बहुपक्षीय एवं विशेषगरी संयुक्त राष्ट्रसंघका मञ्चहरूमा द्विपक्षीय सहयोगलाई सुदृढ बनाउन साझा हितका विभिन्न विषयमा विचारविमर्श गरेका थिए।

गणततन्त्र पलाउ १५ डिसेम्बर १९९४ मा १८५औँ सदस्य राष्ट्रको रूपमा संयुक्त राष्ट्रसंघमा सामेल भएको हो।