काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले आजको संसद बैठकको कार्यक्रम स्थगत गर्न प्रस्ताव पेश गरेको छ । राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रतिनिधिसभा नियमावली २०७९ को नियम ७४ बमोजिम अत्यन्त जरुरी सार्वजनिक महत्वको विषयमाथि छलफल गर्न प्रस्ताव पेश गरेका हुन्।
राप्रपाले राष्ट्रपति रामचन्द्र पौडेलले नीति र नियमविपरित नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्रीले भारत भ्रमणमा मुलुकको हितविपरीत कार्य गरेको कुरा उठेकाले यस विषयका छलफल नगरी संसद नियमित रुपमा अगाडि नबढ्ने भएकाले निर्धारित सबै कार्यक्रम स्थगित गर्न माग गरेको सचेतक शाहीले जानकारी दिए।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चार दिने भारत भ्रमणका क्रममा राष्ट्रिय हीत विपरीत अभिव्यक्ति दिएको ठहर गर्दै एमालेले पनि संसद अवरुद्ध गर्ने तयारी गरेको छ।
प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा बंगलादेशसम्म पुग्ने बाटो नेपाललाई दिए कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतलाई दिन सकिने विकल्पबारे पनि छलफल भएको विवादास्पद अभिव्यक्ति दिएका थिए।
संसद भवन नयाँ बानेश्वरमा शनिबार बसेको एमाले संसदीय दलको बैठकले भारत भ्रमणका क्रममा सीमा समस्याका बारेमा कुरा राख्न नसकेको, इपीजी प्रतिवेदन बुझ्ने विषयमा छलफल हुन नसकेको लगायतका विषयमा प्रधानमन्त्रीसँग संसदमा जवाफ माग गर्ने निर्णय गरेको हो।