काठमाडौं-नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्दप्रसाद पाण्डेले अहिलेकै अवस्थामा बजेट पास हुन नदिने बताउनु भएको छ।
![](https://suchanapress.com/wp-content/uploads/2023/06/ra.jpg)
आज काठमाडौंमा भएको पार्टी निकट समाजवादी प्रेस संगठनको पहिलो केन्द्रीय अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो।
उहाँले अहिलेको बजेट असमानता र अन्यायपूर्ण रहेको भन्दै यथास्थितिमा कुनै पनि हालतमा पास हुन नदिने स्पष्ट पार्नुभयो ।
नेता पाण्डेले ११० करोड डडेल्धुरा, ५५ करोड गोरखा र ७०/७५ करोड नुवाकोटमा गरी कुल २३२ करोड बजेट छुट्याइएको र बाँकी ७४ जिल्लामा २६८ करोड बजेट छुट्याइएको भन्दै यो कुनै पनि अवस्थामा सह्य नहुने चेतावनी दिनु भयो । उहाँले १६५ वटा निर्वाचन क्षेत्रमा असमान व्यवहार गर्ने बजेट आफू र आफ्ना पार्टीलाई स्वीकार्य नहुने बताउनु भयो।
यथास्थितिमा बजेट पास गर्न नदिने र त्यसको सजाय सरकार छोड्नुपर्ने भए पनि पार्टी तयार रहेको उहाँले बताउनु भयो। उहाँले भन्नुभयो, ‘१६५ वटा निर्वाचन क्षेत्रमा असमान व्यवहार गर्ने खालको जुन प्रवृत्ति छ, यो कुरा सह्य हुँदैन । आजको जनता २०४८ सालको जनता होइन । अब कुनै पनि ठाउँमा हामी विभेद, अन्यायको विरुद्धमा लड्नेछौँ । सरकार छोड्न परे परोस्, यो अन्याय सहनु हुँदैन ।’