काठमाडौं । पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव मिलनकुमार थापाले पशुपतिमा सुनको जलहरी लगाउँदा सुन गायब गरेको भए आफू जस्तोसुकै कारबाही भोग्न तयार रहेको बताएका छन् ।
सिंहदरबारमा मंगलबार बसेको राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा आँखाबाट आँसु झार्दै थापाले यस्तो बताएका हुन् ।
सदस्य सचिव थापाले यस विषयमा न्याय माग्न आत्महत्या गर्नुपर्ने हो भन्दै प्रश्न गरे ।
‘बिनाआधारमा सुन हिनामिना गरेको आरोप लगाइयो । सुन चोरी गरेको प्रमाणित भए जस्तोसुकै कारबाही भोग्न तयार छु,’ उनले भने ।
राष्ट्र बैंकसँगको सम्झौता अनुसार १०३ केजी सुन ल्याएको र तत्कालीन प्रधानमन्त्री केपी ओली र तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको निर्देशनमा छिटो काम गरेको बताउँदै उनले पशुपतिमा सुनको जलहरी लगाउँदा २४ घण्टा नेपाली सेना तैनाथी गरिएको बताए ।
अदालतबाट सुनको जलहरी हाल्न हुँदैन भनेर प्रदेश सांसद नरोतम वैद्यले स्टे अर्डर ल्याएको बेला ९६ किलो ८२२ ग्राम सुन तयार भएको र १० किलो सुन जलहरीका लागि तयारी नभएको हुँदा माइनुटमा मात्रै नलेखिएको र उक्त १० किलो पशुपतिनाथ मन्दिरमा नै रहेको उनले दाबी गरे ।
उनले १० किलो सुनका कारण आफ्नो बेइज्जत भएको भन्दै सुन जोख्दा नपुगे मृत्युदण्ड भोग्न पनि तयार रहेको बताए ।