७ मंसिर २०८१, शुक्रबार 1732274520
Banner

किन हुन सकेन समाजवादी मोर्चा घोषणा ?

काठमाडौं । नेकपा माओवादीसहित दलहरुले गठन गर्ने भनेको समाजवादी मोर्चा गठन आज नहुने भएको छ । आन्तरिक तयारी नपुगेको भन्दै समाजवादी मोर्चा घोषणा हुन नसकेको हो ।

यसअघि नेताहरुले आज असार १ गते मोर्चा गठनको घोषणा हुने बताएका थिए ।

मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, विप्लव नेतृत्वको नेकपा सहभागी हुने छन् । यसमा डा. बाबुराम भट्टराई नेतृत्वको नेसपालाई पनि समेट्नेबारे छलफल भइरहेको बुझिएको छ ।

एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले सो मोर्चा गठन हुन अझै एक–दुई दिन लाग्ने बताए । समाजवादी मोर्चाको गन्तव्य कहाँ भन्ने जिज्ञासामा उनले भने, ‘सहकार्य गर्दै जाँदा भोलि कहाँ पुगिन्छ त्यो त भन्न सकिँदैन । तर आज पार्टी एकता गर्नको निम्ति या एकीकरण गर्नको निम्ति यो मोर्चा बनेको छैन ।’

देशको विकास, सुशासन र राजनीतिक स्थिरताको पक्षमा वकालत गर्ने र आम जनतालाई दिने सेवा सुविधाको प्रवाहलाई सुव्यवस्थित गर्न दबाबकारी भूमिकाका मोर्चा गठन गर्न लागिएको उनले बताए ।

उनका अनुसार मोर्चाको संयन्त्र प्रदेश र जिल्लामा पनि बन्नसक्ने छ ।

Tags :