८ मंसिर २०८१, शनिबार 1732360576
Banner

साफ च्याम्पियनसिप फुटबल : कुवेतले गर्यो नेपालविरुद्ध दुई गोल

काठमाडौं । साफ च्याम्पियनसिप फुटबल उद्घाटन खेलमा कुवेतले नेपालविरुद्ध दुई गोल गरेको छ ।

बुधबार भारतको बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा भएको खेलमा कुवेतले पहिलो हाफमै नेपालविरुद्ध दुई गोल गरेको हो ।
खेलका क्रममा पहिलो गोल खेल सुरु भएको २३ औं मिनेटमा खालिद हाजिइयाले गरेका थिए ।

आफ्ना साथीले बायाँतर्फको कर्नरबाट उपलब्ध पासलाई सदूपयोग गर्दै उनले खाली पोष्टमा गोल गरेका थिए । दोस्रो गोल भने निर्धारित समयको ४१औं मिनेटमा एस।खालदीले गरेका थिए ।

त्यसअघि खेलको ३५ औं मिनेटमा अञ्जन बिष्टले विपक्षीको डीबक्स नजिकै बल पाएका थिए । कुवेतका डिफेन्ससमेत केही पछाडि थिए । तर, बल मिलाउन केही समय लाग्दा उनी गोल गर्नबाट चुके ।

त्यसलगत्तै ३५औं मिनेटमै मोहम्मद अब्दुल्लाहको हेड प्रहार पोष्टमा लागेर फर्किएपछि नेपाल गोल खानबाट जोगिएको थियो । दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिप बुधबारदेखि सुरु भएको हो ।

पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको यो १४ औं संस्करण हो । यसपटक साफ च्याम्पियनसिपमा आठवटा राष्ट्रको सहभागिता रहेको छ । प्रतियोगितामा नेपालसहित आयोजक भारत, बंगलादेश, भुटान, पाकिस्तान, माल्दिभ्स, कुवेत र लेबनानले प्रतिस्पर्धा गर्दैछन् ।

विश्व फुटबल महासंघ (फिफा) को प्रतिबन्धमा परेका कारण श्रीलंकाले भने यो संस्करणमा सहभागिता जनाउन पाएन । यसपटक कुवेत र लेबनानलाई भने आमन्त्रित टोलीको रुपमा सहभागी गराइएको हो ।

नेपाल र कुवेतबीच हालसम्म नौवटा खेल भएक छन् ।

एक खेल भने बराबरीमा सकिएको छ । यसपटक प्रतियोगिताको समूह ‘ए’ मा नेपालसँगै साविक विजेता भारत, कुवेत र पाकिस्तान रहेका छन् । समूह ‘बी’ मा भने लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् ।

नेपालले आफ्नो दोस्रो खेल असार ९ गने भारतसँग खेल्नेछ । नेपालले तेस्रो तथा अन्तिम खेल असार १२ गने पाकिस्तानसँग खेल्नेछ ।