१८ श्रावण २०८३, सोमबार 1785763585
Banner

दुई करोड ३३ लाख अवैध बजार मूल्यको लागुऔषधसहित १० जना पक्राउ

प्रहरीले पछिल्लो दुई सातामा रु दुई करोड ३३ लाख बढी अवैध बजार मूल्य रहेको लागुऔषधसहित विदेशी र नेपाली १० जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले गएको जेठ २८ देखि आजसम्म गरेको आठवटा लागुऔषधविरुद्धको अपरेशनमा उनीहरूलाई पक्राउ गरी ठूलो परिमाणको लागुऔषध बरामद गरेको हो । ब्यूरोका प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार पक्राउ पर्नेमा पाँच जना विदेशी छन् भने पाँच जना नेपाली रहेका छन् । उनीहरूको साथबाट कोकिन तीन दशमलव सात ग्राम, खैरो हेरोइन एक सय ग्राम, एम्फेटामाइन ४० दशमलव ५० ग्राम, चरेस सात किलो, गाँजा झन्डै पाँच किलो, कोडिन १६ बोतल र एलएसडी स्टिकर १० हजार बरामद गरिएको प्रहरीले जनाएको छ ।

उक्त लागुऔषधसहित विभिन्न स्थानबाट पक्राउ गरिएकामा राज गौतम, मुखिया गुरुङ, दावा तामाङ, नरबहादुर तामाङ, सुगम मैनाली, भारतीय नागरिक सञ्जीव कुमार र हेमन्तकुमार भगत तथा विभिन्न देशका नागरिक डेभिड मिनाडो, मार्टिन शेर्ना, पवल वेष्र्ट रहेका छन् । उनीहरूमाथि अदालतबाट म्याद लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक जोशीले जानकारी दिनुभयो ।