जर्मनी साहित्यकार बर्तोल्त ब्रेख्तले भनेका थिए, “दुःखी मुलुक हो त्यो, जहाँ नायकको खाँचो बोध हुन्छ।” अहिले हामी बर्तोल्त ब्रेख्तले भनेझैं नायक खोज्न लागेका छौ तर कुरै नबुझी लहलहैमा लागेर खराब मात्र र प्रवृत्तिलाई नायक देख्दैछौं। जसका कारणले नेपालको राजनीतिमा भ्रमपूर्ण सस्तो लोकप्रियतावादले अराजकता र स्वछन्दताका साथ आफूलाई आफै सर्वश्रेष्ठ नायक ठान्दैछ। परिणामस्वरूप नेपालमा वैचारिक दर्शनमा आधारित र लोकतान्त्रिक पद्धतिअनुसार गरिने राजनीतिले चुनौतीको सामना गर्न परिरहेको छ।
तर हामीले बुझ्नुपर्छ, “लोकतान्त्रिक प्रणाली भनेको संवैधानिक सर्वोच्चता र विधिको शासन हो। विधि ठीक छैन् भने सच्याईन्छ, तर विधि मान्दिन र जबर्जस्ती गर्छु भन्न पाईंदैन्। जनताले पनि को खराब र को असल छुट्याउने क्षमता देखाउनु पर्छ।” तापनि जनतालाई भ्रमित बनाउन देशभित्र र बाहिरबाट अनेक खालका प्रपञ्चहरू भइरहेका छन्। त्यसबाट हामी जोगिनु पर्ने अर्को चुनौती थपिएको छ।
केही भूतपूर्व नेपालीहरू अमेरिका, अष्ट्रेलिया र युरोपलगायतका मुलुकहरूमा बस्छन्। उनीहरूको उतै घरबार र कारोबार छ। तर सामाजिक सञ्जालबाट नेपालको राजनीतिमा अराजकता र स्वछन्दता बढाउने गरी अभिव्यक्ति दिइरहन्छन्। नेपालमा भएका आफ्ना आफन्तहरूलाई प्रलोभन, प्रभाव र दबावमा पारेर अराजकता र स्वछन्दताको पक्षमा लाग्न बाध्य पार्छन्। जुन देशको नागरिक हो, त्यही देशको चिन्ता लिएर त्यही भूमिमा रमाउन छोडेर यता हस्तक्षेप बढाउँदैछन्। नागरिक उताको हस्तक्षेप यता किनरु ठीक उत्तर खोज्नु पर्ने भएको छ।
बिग्रेको राजनीतिक होइन, शिक्षा हो।
बिग्रेको राजनैतिक तथा संवैधानिक व्यवस्था होइन, नागरिक र नेतृत्वको चिन्तन र व्यवहार हो।
बिग्रेको सामाजिक व्यवस्था होइन, हाम्रो दरिद्र मनस्थिति हो।
बिग्रेको देश चित्र होइन, हाम्रो चरित्र र संस्कार हो।
बिग्रेको समय होइन, समय नचिन्ने हाम्रो क्षमता हो।
चमत्कार र जबर्जस्ती अनि अराजकता र स्वछन्दताबाट समाजको परिवर्तन गर्छु भन्नु मूर्खता हो। बरू विविधतालाई समुचित उपयोग र प्रवर्द्धन गर्दै जनताको चेतनाको स्तर उकास्दै र व्यवहार परिस्कृत गर्दै अभ्यासहरूमा सकारात्मक परिवर्तन ल्याउन सकियो भने मात्रै समस्याहरूको समाधान गरेर विकासलाई दिगो बनाउन सकिन्छ र जनअपेक्षाहरूको ठीक सम्बोधन हुनथाल्छ। अन्यथा बालेन साहको सनक, रवी लामिछानेको भ्रम र प्रचण्डको उपयोगितावादबाट देश पीडित भइरहनु पर्ने परिस्थिति बनिरहन्छ। यी तीन पक्षको रूप पक्ष हेरेर मात्र होइन, सार पक्ष खोजेर तिनका नियतहरू बुझ्न सकिन्छ। सतही बुझाइले बालेन, रवी र प्रचण्डहरूका असली अनुहार चिन्न सकिदैन्।
बालेन साहलाई लिएर रेशु अर्याल ढुंगानाले “बालेनजी आफ्नो कार्यक्षेत्रको दायराभन्दा धेरै बाहिर गएर काम गरिरहनु भएको छ। त्यस्तो नेतृत्वसँग काम गर्न मलाई डर लाग्छ र यो लोकतान्त्रिक पद्धति होइन।” भन्दै बालेनको शिक्षा सल्लाहाकारको पदबाट राजीनामा दिएकी छिन्। त्यस्तै बालेन र प्रचण्डका पछिल्ला गतविधि र अभिव्यक्तिलाई लिएर अनलाईन खबरमा बसन्त बस्नेतले, “सनकहरूलाई सहेर बस्ने कि तर्कहरूको पुनर्स्थापना गर्नेरु” भन्ने शीर्षकमा लेख्छन्, “प्रचण्डलाई लाग्छ, त्रिविका उपप्राध्यापक चलाउने कुटिएर के भो त, बाँचेकै छन्। दुई छाक खाएकै छन्। विद्यार्थीहरूलाई थुनेर किन दुःख दिनेरु बालेनलाई लाग्छ, अदालतका ति आदेश मान्छु, जो मेरा हितमा छन्। अदालतका ति आदेश च्यात्छु, जो मेरा खिलाफ छन्।” रवी लामिछानेको राहदानी मुद्दा अदालतमा विचाराधीन छ।
कम्फर्टेबलवादीहरू खुला रूपमा भारतको स्वार्थमा गतिविधिहरू गरिरहेकै छन् भने सस्तो लोकप्रियतावादीहरू २०५२ सालपछिको माओवादीको भूमिकामा देखिएका छन्। २०५२ फागुन १ पछि माओवादी अर्थात प्रचण्डले रूपमा भारतको विरोध गरेर सारमा भारत कै स्वार्थमा काम गर्ने जुन शैली थियो, लोकप्रियतावादीहरूले पनि त्यही शैली र प्रवृत्ति देखाएका छन्। त्यसैले त रूपमा भारतको विरोधमा देखिन्छन् तर सारमा भारत कै पक्षमा प्रचण्डले झैं काम गरिरहेका छन्।
हिजो प्रचण्डको राजनीतिक नियत नबुझ्दा अनावश्यक द्वन्द्व, हिंसा र ध्वंसले प्राथमिता पाएको थियोभने आज लोकप्रियतावादीहरूको नियत नचिन्दा देश अर्को अस्थिरता र द्वन्द्वमा फस्न सक्छभन्ने कुरा हामीले बुझ्नुपर्छ। तिनको राजनीति र रणनीतिले देशको होइन, परदेशको स्वार्थ पूरा गर्ने लक्ष्य लिएको छ। लोकप्रियतावादीहरू बाह्य प्रायोजनमा नेपाल नियन्त्रित अस्थिरता कायम गर्न कोही स्वतन्त्र बनेर त कोही नयाँ दल खोलेर राजनीतिमा आएका छन्। ति मध्ये एउटा पक्षले हमित कारजाई मोडल अपनाएको पाईन्छ भने अर्को पक्षले विज्ञ बनेर बाह्य स्वार्थमा काम गर्न रूख जोगाउन छोडेर घण्टी बजाउन पुगेका छन्।
नेपालको राजनीतिमा अमेरिकी चर्चको घण्टी बजाउनेदेखि लिएर छाडा र्याप गाउने अनि भारतीय स्वार्थमा गेरूवस्त्र लगाउनेहरूको मौकापरस्त देश र जनता विरोधी राजनीतिले नेपालमा नियन्त्रित अस्थिरता कायम गरेर बाह्य स्वार्थ पूरा गर्ने रणनीतिकपूर्ण लक्ष्यले नेपालको राजनीति प्रदुषित बनाउँदैछ। यो प्रदुषण अझै बढ्ने सम्भावना केही दिन यताका तिनका बोली र गतिविधिहरू अनि जनताको भ्रमित चेतनाले त्यसको स्पष्ट संकेत गरेको छ। त्यसैले अबको राजनीति, सामाजिक मनस्थिति सकारात्मक र देशको परिस्थिति जनमुखी बनाउन प्रगतिशील लोकतान्त्रिक अर्थात सामाजिक लोकतन्त्र अर्थात परिपूर्ण लोकतन्त्रको पक्षमा आकर्षित गराएर कम्फर्टेबल र लोकप्रियतावादीहरूको राजनीति नेपालमा नियन्त्रित अस्थिरता बढाउने रणनीतिलाई पूर्ण रूपमा असफल बनाउनु पर्छ।
अन्तमा हामीले बुझ्नुपर्छ, २०५२ फागुन १ मा बिजारोपण भएको अराजकता, जबर्जस्ती र स्वछन्दता पहिले माओवादी जनयुद्धको नाममा सहनु परेको थियोभने अहिले कम्फर्टेबल, स्वतन्त्र र नयाँ भन्नेहरूको आवरणमा फेरि सुरु हुन थालेको छ। विधि, विधान र पद्धति होइन, प्रचण्ड मुड र बालेन हठ अनि रवीको झुटले सर्वाधिकार पाउँदैछ।खराबलाई खराब नै भनौं, असल नठानौं र तिनका बाह्य स्वार्थ पूरा गर्ने रणनीति असफल बनाऔं।