११ कार्तिक २०८१, आइतबार 1730017024
Banner

एमाले र रास्वापले गर्‍यो संसद बैठक अवरोध

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा बैठक अवरूद्ध गरेका छन्।

जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालय मातहत राख्ने सरकारले तयारी गरेको भन्दै एमाले र रास्वपाले मंगलबार प्रतिनिधिसभा बैठक सुरू हुनेबित्तिकै उठेर विरोध गरेका हुन्।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले निर्वाचन कार्यालयलाई खारेज गरी प्रशासन कार्यालयमा गाभ्ने निर्णय लोकतन्त्र विरोधी भएको भन्दै सरकारलाई त्रुटि सच्याउन आग्रह गरेका छन्।

यस्तै एमालेले पनि यस विषयमा विरोध जनाएको छ। एमाले सां‌सद सूर्य थापाले सरकारले यो विषयलाई सच्याउनुपर्ने भन्दै विरोध जनाएका छन्। उनीहरूले सभामुखले नै रूलिङ गर्नुपर्ने माग गरेका हुन्।

यस विषयमा रास्वपाका सचेतक परियारले सोमबार पनि विरोध गरेका थिए। मंगलबारको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले बोल्ने कार्यसूची पनि छ।

जिल्ला निर्वाचन कार्यालय जिल्ला प्रशासन कार्यालयमा गाभ्दा जनताको मताधिकारलाई अप्ठ्यारोमा पार्ने रास्वपाको बुझाइ छ।

त्यतिमात्र होइन उसले स्वतन्त्र रूपमा जन्मिएका पार्टीहरूलाई राष्ट्रिय राजनीतिमा बन्देज लगाउन षड्यन्त्रको रूपमा यसलाई लिएको छ। प्रतिनिधि सभाको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेको छैन।