७ मंसिर २०८१, शुक्रबार 1732318350
Banner

मदन भण्डारी राष्ट्रिय पुरस्कार २०७९ शेर्पा र मगरलाई

काठमाडौं । मदन भण्डारी राष्ट्रिय पुरस्कार २०७९ बाट सोलुदूधकुण्ड नगरपालिका–४, फाप्लु, सोलुखुम्बुका डा. मिङमार गेल्जेन शेर्पा हेटौँडा उपमहानगरपालिका-४ प्रतिभानगर, मकवानपुर निवासी श्री निरु कुमारी मगर सम्मानित हुने भएका छन् ।

मदन भण्डारी फाउण्डेसनले प्रदान गर्दै आएको सो पुरस्कारबाट हरेक वर्ष समाजमा सिर्जनात्मक काम गरी अरुलाई उत्प्रेरित गर्ने व्यक्ति र संस्थालाई प्रदान गर्दैआएको छ ।

शेर्पा ४५ वर्षदेखि स्वास्थ्य सेवाको क्षेत्रमा संलग्न रही, देशका दुर्गम स्थानका गरीव, असहाय तथा सेवाको पहुँचबाट वञ्चित रहेको समुदायलाई सेवा गर्दै आएका छन् ।

उनले मातृ मृत्युदर घटाउन, आधारभूत स्वास्थ्य सेवाको सहज पहुँच उपलब्ध गराउन ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम,दूर्गम असहायहरूका लागि हाडजोर्नी र अपाङ्गता सम्बन्धि जिल्लाहरूमा टेलिमेडिसिन सेवा, उपचारकासाथै स्वास्थ्य संस्थाहरूमा गुणस्तरीय औषधि तथा स्वास्थ्य सामाग्रीहरू नियमित आपूर्ति गर्न बहुवर्षीय खरिद प्रणालीको शुरुआत लगायत स्वास्थ्य सेवाको निरन्तरता र दिगोपनाका लागि स्वास्थ्य सेवा प्रणालीको संस्थागत विकास तथा विस्तारमा महत्वपूर्ण नेतृत्व र विशेष भूमिका निर्वाह गर्दै आएका छन् ।

यस्तै फाउण्डेसनले हेटौँडा उपमहानगरपालिका-४ प्रतिभानगर, मकवानपुर निवासी श्री निरु कुमारी मगरलाई मदन भण्डारी रुपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कारबाट सम्मान गर्ने भएको छ ।

उनी खेलकुद क्षेत्रको संस्थागत विकास तथा विस्तारमा महत्वपूर्ण नेतृत्व र विशेष भूमिका निर्वाह गर्ने कार्यमा उत्कृष्ट नमूना प्रस्तुत गर्न सफल महिला व्यक्तित्व हुन् ।

उनले विगत ३१ वर्षदेखि खेलकुद विकासको विविध विधा र क्षेत्रमा संलग्न रही, कठीन पारिवारिक, आर्थिक, सामाजिक परिवेशका बावजूद, आफ्नै प्रयत्नका आधारमा खेलप्रति लगनशील र निरन्तर समर्पित रहेर समाजमा विद्यमान खेलप्रतिको बुझाइ र महिला खेलाडीहरूप्रतिको दृष्टिकोण परिवर्तन गर्न स्थानीय, प्रादेशिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा सफलताको मानकहरू कायम गरी नयाँ पिँढीलाई प्रेरणाको स्रोतको रूपमा पहिचान बनाउँदै विभिन्न खेल गतिविधिहरूमा नियमित र निरन्तर संलग्न रहँदै सम्बन्धित खेल क्षेत्र, लिङ्गीय विभेद विरुद्ध महिला आत्मसुरक्षा तथा आत्मानुशासन क्षेत्रको ज्ञान सीपको प्रचार एवं कौशल हस्तान्तरण गरी राष्ट्रिय र अन्तराष्ट्रिय स्तरका खेलाडिहरूको नयाँ पुस्ता तयार गर्ने कार्यमा हालसम्म पनि निरन्तर योगदान पु¥याएका छन् ।

उनीहरुलाई जननेता मदन भण्डारीको ७२औँ जन्मजयन्तिको अवसरमा सो पुरस्कार गर्ने फाउण्डेशनले जनाएको छ । पुरस्कार राशी जनही १ लाख नगद र सम्मान–पत्र रहेको फाउण्डेशनले जानकारी दिएको छ ।

Tags :