२ आश्विन २०८१, बुधबार 1726712046
Banner

मर्निङवाकमा निस्किने महिलाको सिक्री चोर्ने पाँचजना पक्राउ

काठमाडौं । मर्निङवाकमा निस्किने महिलाको सिक्री सुनियोजित रुपले चोर्ने गिरोह पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक मनोजकुमार केसीका अनुसार आठवटा श्रृंखलाबद्ध चेन स्न्याचिङ गर्ने गिरोहमा संलग्न पाँच जनालाई पक्राउ गरिएको हो ।

प्रहरीले चेन स्न्याचिङका मुख्य योजनाकार काभ्रेको पाँचखाल नगरपालिका ७ घर भई हाल बानेश्वर बस्ने उमेश क्षेत्री, चोरी गर्ने रामेछापको लिखु गाउँपालिका १ घर भई हाल काठमाडौंको हाँडीगाउँ बस्ने रवीन दमाई, मोटर साइकल चलाउने सुनसरीको धरान उपमहानगरपालिका ८ घर भई हाल चावहिल बस्ने रवि विक, चोरीको सुन बिक्री गर्न सहयोग गर्ने धनकुटा घर भई हाल राममन्दिर बस्ने राहुल माझी र चोरीको सुन खरिद गर्ने भारतको पश्चिम बंगाल घर भई हाल न्युरोड बस्ने श्रीकान्त मैती छन् ।

२२ असारमा पक्राउ परेका उनीहरूलाई आइतबार प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । उनीहरूले चोरी गरेकै बाइक प्रयोग गरेर मर्निङवाकमा निस्किने महिलालाई पछ्याउने र पायक पर्ने ठाउँ आएपछि बाइक रोक्ने, त्यसपछि महिलालाई पछ्याएर लुटपाट गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरूले काठमाडौंको कपुरधारामा असार १ गते पहिलो लुटपाट गरेका थिए ।

चोरी गरेका गहना तत्कालै गाल्ने र बिक्री गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

Tags :