काठमाडौं। अविरल वर्षासँगैको आएको बाढीका पूर्वी नेपालको तराई क्षेत्र प्रभावित भएको छ। ठाउँ–ठाउँमा बाढीका कारण डुवान भएको छ।
सुनसरीको सुनसरी खोलामा आएको बाढीका कारण प्रहरी चौकी डुबानमा परेको छ। भोक्राहानरसिंह गाउँपालिका–८ मा रहेको सिसुवाधरमपुर चौकी डुबानमा परेको हो।
सुनसरी प्रहरीका प्रवक्ता डीएसपी राजकुमार राईले डुबान भएपछि प्रहरीले प्रहरी चौकी छाड्नु परेको बताए । सुनसरी खोलाको बाढी पसेका कारण प्रहरी चौकीको कम्पाउण्डभित्र ४ फिटसम्म पानी जमेको छ।
चौकीबाट विस्थापित बनेका प्रहरी हरिनगरा गाउँपालिका–५ स्थित सिसुवाधरमपुर आधारभूत विद्यालयमा गएर बसिरहेका छन्।
सिंघिया खोलामा आएको बाढीले घर बगाएपछि मोरङमा तीन परिवार विस्थापित भएका छन्। मोरङको जहदा गाउँपालिका–३ स्थित भाथीगन्जमा बाढीले घर भत्किएपछि ३ परिवार विस्थापित भएका मोरङ प्रहरी प्रवक्ता रञ्जनकुमार दाहालले बताए। विस्थापित भएकालाई सुरक्षित स्थानमा सारिएको दाहालले बताए। सोही स्थानका अन्य दुई घर पनि जोखिममा छन्।
शुक्रबार बिहानको सबेरैदेखि भइरहेको वर्षाका कारण खोलाहरुमा बाढी आएको छ। बाढीका कारण नदी किनारका बस्तीहरु जोखिमा परेका छन् । धेरै स्थान डुबानमा रहेको जानकारी आएपछि अन्य क्षतिको विवरण आइनसकेको दाहालले बताए।
मोरङका बूढी, सिंघिया, केसलीया, लोहन्द्रा, बक्राहालगायतका खोलामा बाढी आएका कारण नदी किनार क्षेत्रमा सतर्कता अपनाइएको प्रहरीले बताएको छ।