८ मंसिर २०८१, शनिबार 1732351187
राजनीति

नेसपाले सुरु गर्‍यो संगठन निर्माण तथा विस्तार अभियान

काठमाडौं । नेपाल समाजवादी पार्टीले आजदेखि संगठन निर्माण तथा विस्तार अभियान सन्चालन गरेको छ।

‘अबको राष्ट्रको संकल्प, समाजवादी विकल्प’ भन्ने नारासहित पुससम्म चल्ने अभियानको नेसपाका केन्द्रीय पदाधिकारीहरूले सातै प्रदेशमा वृक्षारोपण गरी उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

अभियानको कोशी प्रदेशमा उपाध्यक्ष हिसिला यमी, मधेस प्रदेशमा अध्यक्ष महिन्द्र राय यादव, बागमती प्रदेशमा सहअध्यक्ष गंगानारायण श्रेष्ठ, गण्डकी प्रदेशमा अध्यक्ष डाक्टर बाबुराम भट्टराई, लुम्बिनी प्रदेशमा सहअध्यक्ष गोविन्द चौधरी, कर्णाली प्रदेशमा भक्तबहादुर शाह र सुदुरपश्चिम प्रदेशमा उपाध्यक्ष दुर्गा सोबको नेतृत्वमा अभियान सन्चालन हुनेछ।

पार्टी अध्यक्ष डाक्टर भट्टराईले गोरखाको पालुङटार नपा १ खोप्लाङ ज्योती चौतारामा विभिन्न प्रजातिका बृक्षरोपण गरेर अभियानको सुरुआत गर्नेछन्।

त्यस्तै कोशी प्रदेशमा आत्मनिर्भर अर्थतन्त्रको नारासहित मोरङ र सुनसरी जिल्लामा २ सय थान फलफूलको वृक्षारोपण गरेर अभियानको शुभारम्भ हुने प्रदेश इन्चार्ज भरत दाहालले जानकारी दिए।

मधेस प्रदेशमा फूलको विरुवा रोपेर अभियान सन्चालन गर्ने नेसपा नेता प्रमोद यादवले जानकारी दिए।

बागमती प्रदेशका १३ जिल्लामा प्रत्येक जिल्लामा एकहजार फलफूलसहित विभिन्न प्रजातिका बोटबिरुवा रोपेर अभियानको शुभारम्भ हुने प्रदेश अध्यक्ष बन्दना सुवेदीले जानकारी दिइन्।

त्यसैगरि सुदूरपश्चिम प्रदेशका कैलाली जिल्लाको टीकापुर, भजनी र कैलालीमा व्यापकरूपमा वृक्षारोपण गरेर अभियानको शुभारम्भ हुने इन्चार्ज जनक शाहले जानकारी दिए।

प्रदेशका कन्चनपुर, बैतडी, डडेलधुरा, अछाम, बाजुरा, बझाङका विभिन्न स्थानमा समेत बृक्षरोपण गरी अभियानको शुभारम्भ हुने शाहले जानकारी दिए।

प्रत्येक जिल्लामा विभिन्न प्रजातिका १ हजारभन्दा बढी वृक्षारोपण गरिने लक्ष्य लिइएको नेसपाले जनाएको छ ।

अभियान सात वटा प्रदेशका सबै जिल्ला तथा केही आवश्यकता अनुसार पालिका तहमा समेत सन्चालन गरिने कार्यक्रम रहेको नेसपाले जनाएको छ।