१२ कार्तिक २०८१, सोमबार 1730095278
Banner

एयरपोर्ट सुनकाण्ड : पाँच प्रश्नको जवाफ दिन एमाले महासचिवको आग्रह

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एयरपोर्टबाट आएको सुन बाहिर समातिएकै आधारमा एयरपोर्टको सुरक्षा प्रणाली र अनुसन्धान विभागले उन्मुक्ति पाउन नसक्ने बताएका छन् ।

सत्ता पक्षबाट एउटा राम्रो काम गरेकै आधारमा सबै प्रकारका कमजोरीबाट उन्मुक्ति पाउनु पर्दछ भन्ने भाष्य खडा गर्न खोजिएको बताउँदै उनले यस्तो बताएका हुन् ।

‘सुन प्रकरणमा सत्तामा रहेका विशेषगरी माओवादी पक्षधरहरूबाट अरूको गालामा विया टास्ने धन्दा जारी छ । उनीहरुबाट जो सत्तामा छ उसंग प्रश्न गर्नु भनेको अपराध हो भन्ने भाष्य खडा गर्न खोजिँदैछ । के कुनै एउटा राम्रो काम गरेका आधारमा सत्तापक्षधरहरुले सबै प्रकारका कमजोरीवाट उन्मुक्ति पाउनु पर्दछ भन्ने सत्तापक्षीय दृष्टिकोण हो,’ उनले सामाजिक सञ्जालमामार्फत् प्रश्न गरेका छन्, ‘ १०० किलो सुन प्रकरणमा पनि त राजश्व अनुसन्धान विभागको नेतृत्वले जस पाएकै छ । बाहिर सुन समातिएका आधारमा एअरपोर्टको सुरक्षा प्रणाली र भंसार प्रशासनले उन्मुक्ति पाउछ र रु अनि त्यसको नेतृत्व गर्ने सरोकारवाला नेतृत्व माथि प्रश्न उठाउने कुरा अनुचित हुन्छ र ? हुदैन ।’

सत्ताको नेतृत्व गरिरहेको सरोकारवाला निकायले यी प्रश्नहरुप्रति जवाफदेही बन्नुपर्ने उनको भनाइ छ ।

१ एअरपोर्ट भन्सारबाट १०० किलोभन्दा बढी सुन बाहिरिएको तथ्य सुराकीले दिएको सुचनाका आधारमा राजश्व अनुसन्धान विभागको टोलीले समात्न सफल भएको घटनावाट पुष्टि भएको छ । के यसमा एअरपोर्टको सुरक्षा प्रणाली र भंसार प्रशासनको मिलोमतो र जानकारीबिना यस्तो कुरा सम्भव हुन्छ ?

२ नेपालमा अधिकांश भारतिय उत्पादनका मोटरसाइकल प्रयोगमा छन् । तर मोटर साइकलको उपकरण चाहिँ हंगकंगबट त्यो पनि हवाईमार्गवाट पटक पटक आउनुलाई के स्वाभाविक मान्न सकिन्छ ? यसमा राज्यका निकायको ध्यान जानुपर्ने होइन ?

३ आयातकर्ता कम्पनीको मालिक एकजना दैनिक ज्यालादारीमा काम गर्ने अवोध मजदुर रहेको तथ्यले यो गिरोह कति धुर्त र पहुँचवाला रहेछ भन्ने देखिन्छ । यति ठुलो पैमानामा कारोबार हुने कम्पनीकाबारेमा सरकार यसरी बेखवर बस्न मिल्दछ र ? अवोध मजदुरलाई प्रयोग गरेर कम्पनी दर्तागर्ने र कारोबार गर्नेहरु को हुन् राज्यका निकायले खोज्नु पर्दैन ? सत्यतथ्य बहिर ल्याउनु पर्दैन ?

४ कतै यस प्रकरणमा राजश्व अनुसन्धान विभागमा नयाँ नेतृत्व आएका कारणले वा गिरोहका बीचमा विवाद भएका कारणले तस्करीको योजना असफल भएको त होइन भन्ने कुरालाई आधार बनाउने हो भने यसअघि पनि यसरी नै ठुलो पैमानामा सुन तस्करी भएको देखिन्छ । के अनुसन्धान त्यहाँ सम्म पुग्नु आवश्यक छैन र ?

५ शासकीय जिम्मेवारी र दायित्व भनेको अरूले गरेको राम्रो कामको जसलिन होडबाजी गर्ने कमजोरीको हकमा भने टकटकिने चाहिँ होइन होला नि ? यस अर्थमा एअरपोर्टको प्रशासन, सुरक्षा निकाय र भन्सार प्रशासन कहाँ कसको संलग्नता छ र क कस्को संरक्षण छ ? भन्ने कुरा पनि नागरिक चासोको विषय बनाउ । राष्ट्रको प्रतिष्ठामा नै आच आउने यस्तो विषयमा गम्भीर बनौ । आशंकित सबैलाई छानविनको दायरामा ल्याउन विलम्ब नगरौँ ।