२८ बैशाख २०८३, सोमबार 1778503503
राजनीति

नेता कसटिएको विरोधमा कलैया बजार बन्द

काठमाडौं । जिल्ला प्रहरी कार्यालय बारा परिसरमा नेपाली काँग्रेसका जिल्ला सचिव भैयाराम यादव र नेकपा एसका जिल्ला उपसचिव ध्रुव प्रसाद यादवमाथि भएको कुटपिटको विरोधमा आज कलैया बजार बन्दको आह्वान गरिएको छ ।

कुटपिटमा संलग्न प्रहरी अधिकारीलाई कारबाही नगरिएको भन्दै काँग्रेस र नेकपा एसले कलैया बजार बन्दको आह्वान गरेको हो ।

पूर्वनिर्धारित आन्दोलनका कार्यक्रम अनुसार अहिले काँग्रेस र नेकपा एसका कार्यकर्ता कलैया बजार बन्द गराउँदै हिँडेका छन् । सडकमा टायर बालेर उनीहरू यातायात र पसलहरू बन्द गराएका हुन् । मोटरसाइकल समेत चल्न दिइएको छैन ।

यता, जिल्ला प्रहरी कार्यालयले बजार र यातायात बन्द गराउन नदिन ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ । बन्द गराउँदै हिँडेका प्रदर्शनकारी र प्रहरीबीच कलैया बजारमा तनावको अवस्था सृजना भएको छ ।

सवारी दुर्घटनाको विषयलाई लिएर साउन २ गते भइरहेको छलफलका क्रममा काँग्रेस जिल्ला सचिव भैयाराम र नेकपा एसका जिल्ला उपसचिव ध्रुवमाथि प्रहरी अधिकारीले कुटपिट गरेको आरोप लागेको थियो ।