११ कार्तिक २०८१, आइतबार 1730009773
Banner

अफ्रिकी मुलुक नाइजरमा सैन्य कू

एजेन्सी । पश्चिमी अफ्रिकी मुलुक नाइजरमा सैन्य कू भएको छ। समाचार संस्था रोयटर्सका अनुसार त्यहाँको सेनाले राष्ट्रपति मोहामेद बाजोउमको सरकारलाई बर्खास्त गरिएको बताएको छ।

राष्ट्रपति बाजोउमलाई राष्ट्रपति कार्यालयमै नियन्त्रणमा लिएको केही घन्टापछि बुधबार सरकारी टेलिभिजनबाट सम्बोधन गर्दै कर्नेल अमाडोउ अब्ड्रामानेले नाइजरका प्रतिरक्षा तथा सुरक्षा निकायहरूले शान्ति सुरक्षाको अवस्था बिगारिरहेको र कुशासन चलाइरहेको बाजोउमको शासन अन्त्य गर्ने निर्णय गरेको बताए।

उनले नाइजरको अन्तर्राष्ट्रिय सीमा बन्द भएको, देशव्यापी संकटकाल घोषणा गरिएको र गणतन्त्रका सबै संस्थाहरू निलम्बन भएको पनि टेलिभिजनमा बताएका छन्।

सैनिकहरूले कुनै पनि प्रकारको विदेशी हस्तक्षेप स्वीकार्य नहुने र नियन्त्रणमा लिइएका बाजोउमको रेखदेख आफूहरूले गर्ने बताएका छन्।

भूपरिवेष्ठत मुलुक नाइजर सन् १९६० मा फ्रान्सेली उपनिवेशबाट स्वतन्त्र भएको थियो। स्वतन्त्र भएयता नाइजरमा यसअघि चार पटक सैन्य कू भइसकेको छ।