काठमाडौं । नेपाली कांग्रेस र माओवादी केन्द्रबीच कोशी प्रदेशमा देखिएको समस्या समाधानका लागि सभामुखलाई राजीनामा गराएर निकास खोज्न सहमत भएका छन् ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान दुई दलका नेताबीच छलफलमा सो सहमति भएको हो ।
तर, दुई दलबीचको छलफलले बाबुरामलाई सभामुखबाट राजीनामा गराएर मुख्यमन्त्री कसलाई बनाउनेबारे निष्कर्ष भने आउन सकेन ।
‘कोशीका सभामुख गौतमलाई राजीनामा गर्न लगाएर नयाँ सरकार बनाउनु नै उत्तम विकल्प हुनेमा दुई दल सहमति नजिक पुगेका छन् । सभामुखले राजीनामा गरेर सरकार बनाउने कुरामा छलफल भएको छ । राजीनामा गराएर नै ४७ पुर्याउनु पर्छ भन्ने भएको छ,’ बालुवाटार स्रोतले जानकारी दियो ।
स्रोतका अनुसार निष्कर्षका लागि चाँडै दुई दलबीच छलफल हुनेछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, उप सभापति पूर्णबहादुुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा, नेता कृष्णप्रसाद सिटौलालगायत सहभागी थिए ।
अदालतले गठबन्धनबाट मुख्यमन्त्री बनेका थापालाई पदमुक्त गरेपछि नयाँ सरकार बनाउन आह्वान भएको छ । गठबन्धनलाई बहुमत संख्या ४७ पुर्याउन सभामुखलाई राजीनामा गराएर मात्रै सम्भव छ ।