८ मंसिर २०८१, शनिबार 1732406323
Banner

बालकोटका युवाले अध्यक्ष ओलीलाई सोधे, तपाई भाषण गर्दा घण्टौ बोल्न सक्ने कसरी हुनुभयो ?

काठमाडौं । पुर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग जो कोही युवाले भेट्ने चाहना राख्छन् । अन्य पार्टीका नेताको तुलनामा युवा, बालबालिका, ज्येष्ठ नागरिक केपी ओलीसँग अलि बढि नै झुम्मिन्छन् । छिमेकमै निवास भएपनि विहानदेखि रातीसम्म व्यस्त अध्यक्ष ओलीको कुन समय फुर्सदमा निस्कन्छ र भेट्न सकिन्छ भन्दै कुरेर बसेका बालकोटका युवायुवतीले शुक्रबार साँझ एमाले अध्यक्ष ओलीलाई भेटे ।

आफ्नै टोलछिमेकमा रहेका करिब ३ दर्जन युवायुवतीले अध्यक्ष ओलीसँग आ–आफना क्षेत्रमा भएका समस्याका बारेमा छलफल गरे । फरक फरक विद्यालय र क्याम्पसमा अध्ययनरत ति विद्यार्थीहरुले अध्यक्ष ओलीको घण्टौ बोल्न सक्ने खुबी, त्यसको तयारी, असल नेता कसरी छान्ने ? सफल व्यक्ति कसरी बन्ने ? लगायतका जिज्ञासा राखेका थिए । अध्यक्ष ओलीले संसदमा गरेको भाषण होस या अन्य कार्यक्रमका स्टेजमा उभिएर घण्टौसम्म त्यही बिषयमा रोचक ढंगले प्रस्तुत हुनुको पछाडिको कारण युवाले बुझन खोजे । छिमेकमै अध्यक्ष ओलीको निवास भएपनि सधै टेलिभिजन र कार्यक्रममा टाढाबाट मात्रै हेर्न पाएका युवायुवती अध्यक्ष ओलीसँगै बसेर प्रत्यक्ष संवाद गर्न पाउँदा दंङ्ग देखिन्थे ।

बेलुकी ७ देखि १० बजेसम्म भएको भलाकुसारीमा प्रत्येक युवाले उठाएका प्रश्नको अध्यक्ष ओलीले एक एक गरि जवाफ दिनुभयो । उहाँले भन्नुभयो, ‘सफल हुने पदले होईन, पद अस्थायी हो, वास्तवमा आफ्नो निम्ती, देशका निम्ती, समाजका निम्ती सफल हुन आफुभित्रको क्षमता प्रदर्शन गर्नुपर्दछ । हरेक मानिसमा क्षमता छ । अध्ययनले आफनो जिन्दगी सफल, सरल र सुखमय हुन्छ र अर्को कुरा तिम्रो उपस्थितीले यो समाज, परिवार, देशका लागि फलदायी हुनसक्छ भने तिमी सफल हौं ।’

उहाँले अभिभावकतिर लक्षित गर्दैै कतिपय अभिभावकले आफ्ना सन्तानलाई बुद्धुु, लद्दु, पढनै जान्दैन भन्ने जस्ता शब्दको प्रयोगले बालबालिकालाई कमजोर बनाई रहेको बताउनुभयो । उहाँले भन्नुभयो, कोहीपनि बालबालिका बुद्धु, लद्दु, पढनै नजान्ने भन्ने हुदैन्, हरेक व्यक्ति टयालेन्ट छन्, एक से एक छन् । कहाँ टयालेन्ट प्रकट हुन्छ भने, जसको रुचीको बिषय मिल्छ त्यो बिषय अध्ययन गर्ने त्यसमा तिखार्ने अवसर प्राप्त हुन्छ त्यो टयालेन्ट हुन्छ । जसले बिषय मिल्दो पाएन र त्यसमा आफुले अभ्यास गर्ने सिक्ने अवसर पाएन भने त्यो कमजोर हुन्छ । साइन्समा रुची भएको बिद्यार्थीलाई इतिहास पढन लगायो भने त्यसको रुची मिल्दैन त्यसमा प्रगती गर्न सक्दैन । त्यस कारण आफनो रुचीको क्षेत्रमा अध्ययन गर्न सक्यो भने व्यक्तिले सफलता हासिल गर्न सक्छ । उहाँले अभिभावकलाई प्रश्न गर्दै भन्नुभयो, एउटा खेलाडीलाई खेलौ खेलौ लागिराख्या छ, टेलिभिजनको भित्तामा खेलेको देख्दै बुरुक्क बुरुक्क गर्छ, त्यसलाई कविता लेख्न लगायो भने उसले लेख्न सक्छ ? त्यसैले अभिभावकले विद्यार्थीको खुबी, रुची के मा छ त्यसैमा लगानी गरे थप सफलता हासिल गर्न सकिन्छ ।

अध्यक्ष ओलीले आफ्नै उदाहरण दिदै भन्नुभयो, म सानोमा खुब टयालेन्ट थिए, किनभने मलाई घरमा पनि सवैले यो त टाठोबाठो छ भन्दिने, स्कुलमा पनि साथीभाईले यो त बृलियन्ट छ भन्ने । सरले पनि यसले एकै पटक पढाएपछि बुझछ भन्दिने, म्यामले पनि त्यस्तै भन्ने त्यस बेला मेरो नाम धुब्र थियो । धुब्रले एकै पटक पढाउँदा बुझछ भनेपछि सर म्यामको त्यो बिश्वास तोड्न त भएन ! त्यसलार्ई कायम राख्न म बहुत मेहनत गर्थे, खुब ध्यान दिएर एकै पटकमा बुझने गरि सुन्थे किनभने मैले बुझिन भने त सरको विश्वास टुटथ्यो ! सरको विश्वास नटुटाउन, बृलियन्ट छु भन्ने देखाउन त्यो हौसलाले गर्दा मैले खुब मेहनत गरेर पढ्थे । जसले गर्दा मलाई सानैदेखि पढाएको ठाउँमा ध्यान दिएर सुन्ने बानीको विकास भयो । त्यही भएर कहिले काही परिवारले यस्ता कुरामा ठुला गल्ति गरिरहेको हुन्छ । यो लददु, बुद्धु, पढ्न जान्दै जान्दैन, यसको स्मरण शक्ति कमजोर छ, सिक्छ यस्ताले ? भन्ने जस्ता अभिव्यक्तिले छोराछोरीलाई नकारात्मक असर गरिरहेको हुन्छ यस्ता शब्दको प्रयोग नगर्न उहाँको सुझाब थियो ।

अध्यक्ष ओलीले भन्नुभयो, अभिभावकले नै बालबालिकालाई ढाँटन सिकाईरहेका छन, खल्तीमा पैसा हुन्छ तर पैसा छैन भन्छन् ढाँटछन ! खल्तीमा पैसा भएको छोराछोरीले देखिरहेको छ, छैन भनेर छोराछोरीलाई नढाँटनुस सिधा कुरा गर्नोस नत्र त्यो छोराछारी प्रचण्ड हुन्छ ! अध्यक्ष ओलीले यति भनेपछि हलमा गललल हाँसोको फोहरा छुट्यो ।

रात छिप्पिदै थियो, युवा युवतीले थप उत्साहित हुँर्दै उहाँको अध्ययनको समय र संसदमा घण्टौ बोल्न सक्ने खुबीका बारेमा जिज्ञासा राखे । अध्यक्ष ओलीले आफुलाई बोल्ने कुरामा त्यति तयारीमा राख्न नपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, यसै क्षेत्रमा मेरो ५८ बर्ष वितेको छ । नयाँ सांसद भन्दा आफु अभ्यस्त भएकाले अरुले भन्दा छिटो पढ्न र बुझन सक्छु भन्ने लाग्छ । त्यसमाथि संसदमा बोल्नुपर्ने दिन तयारी गरेरै जाने गर्दछु । संसदमा अरुलाई पनि गाईड गर्ने गरि बोल्ने गरेको छु । अरुलाई पनि गाईड गर्ने गरि बोल्नुपर्दछ भन्ने कुरामा मेरो ख्याल रहन्छ यसका लागि मैले तयारी गरेरै बोल्ने गरेको छु । म छिटो अध्ययन गर्छु, अनलाईनहरु हेर्छु, डाँटा संकलन गर्छु, तथ्यमा आधारित रहेर बोल्छु त्यसका लागि अध्ययन त गर्छु ! अध्यक्ष ओलीले यसो भनिरहँदा, छेउमै रहनुभएकी श्रीमती राधिका शाक्यले हाँस्दै भन्नुभयो, ‘रातभरि पढ्छु भन्नुस्न’ अध्यक्ष ओलीले सही थप्दै भन्नुभयो, हो म रातभरि पढछु।’