काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ। पेरिसडाँडामा बिहान साढे ९ बजेपछि बैठक सुरू भएको हो। त्यसअघि पदाधिकारी बैठक बसेको थियो।
बैठकमा आजदेखि सुरू हुने केन्द्रीय कमिटी बैठकबारे छलफल भएको छ। स्थायी कमिटीमा केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ‘प्रचण्ड’ले पेस गर्ने राजनीतिक एवम् सांगठनिक प्रतिवेदनबारे छलफल हुनेछ।
स्थायी कमिटीले पारित गरेपछि उक्त प्रतिवेदन केन्द्रीय कमिटीमा पेस हुनेछ। त्यसपछि समय रहेसम्म आजैदेखि प्रतिवेदनमाथि छलफल सुरू हुने महासचिव देव गुरूङले जानकारी दिएका छन्।
यसपालिको केन्द्रीय कमिटी बैठकमा बोल्न चाहने सबै सदस्यहरूलाई सकेसम्म बोल्न दिने माओवादी केन्द्रको तयारी छ। यसअघि केन्द्रीय कमिटी बैठक लाइभ गर्ने भनिएपनि त्यसमाथि विवाद उत्पन्न भएको छ। सोबारे पनि स्थायी कमिटी बैठकले निर्णय गर्नेछ।
माओवादी केन्द्रमा ३८७ जना केन्द्रीय सदस्य छन्। बैठकमा पार्टीको लेखा आयोग, निर्वाचन आयोग र अनुशासन आयोगका सदस्यहरू पनि उपस्थित हुनेछन्। पाँचदिन सम्म चल्ने बैठकमा ७ सय भन्दा बढी नेता कार्यकर्ता सहभागी हुने बताइएको छ।