१० मंसिर २०८१, सोमबार 1732569381
Banner

सुन प्रकरणको थप अनुसन्धानको जिम्मेवारी सीआईबीलाई दिइने


काठमाडौं । करिब एक क्वीन्टल सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मेवारी सरकारले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई दिने भएको छ । अन्तरदेशीय संगठित अपराध अनुसन्धानका लागि सीआईबी प्रहरीको विशेष निकाय भएकाले ब्यूरोमार्फत थप अनुसन्धानलाई अगाडि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका हुन् ।

उच्च स्रोतका अनुसार, बिहीबार साँझ गृहमन्त्री नारायणकाजी श्रेष्ठ, रक्षामन्त्री पूर्णबहादुर खड्का, महान्यायाधिवक्ता दिनमणि पोखरेल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सीआईबी प्रमुख किरण बज्राचार्य र राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाबीच बसेको बैठकपछि थप अनुसन्धान सीआईबीमार्फत गर्न प्रधानमन्त्री दाहालले निर्देशन गरेका थिए ।

२ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पार गरी बाहिरिएको सुनसहितको १५५ किलो ब्रेक शु राजश्व अनुसन्धान विभागको विशेष टोलीले बरामद गरेको थियो । यस प्रकरणमा चिनियाँ, भारतीय र बेल्जियन नागरिकसमेत पक्राउ परिसकेका छन् ।