११ कार्तिक २०८१, आइतबार 1730024409
राजनीति

रास्वपाले दियो ‘मोबाइल क्लिनिक’मा प्रयोग गरेको भ्यान मेडिकल कलेज फिर्ता

चितवन । ६५ वर्षभन्दा माथिका वृद्धवृद्धालाई टोलटोलमा गएर स्वास्थ्य उपचार गर्ने उदेश्यले पुरानो मेडिकल कलेजले सञ्चालनमा ल्याएको एम्बुलेन्सलाई ‘मोबाइल क्लिनिक’ भन्दै प्रयोग गरेको भ्यान रबि लामिछानेले कलेजलाई फिर्ता दिएका छन् ।कलेजको निर्देशक डा.मनोहर प्रधानलाई आफ्नो पार्टीमा ल्याएका लामिछानेले अस्पतालको एम्बुलेन्सलाई आफूले प्रयोग गर्न थालेका थिए ।

लामिछानेले चितवनमा सञ्चालनमा ल्याएको ना २ ख ५६१९ नम्बरको एम्बुलेन्स पुरानो मेडिकल कलेज भरतपुरलाई नै फिर्ता गरेको छ । रास्वपा सभापति लामिछाने चितवन क्षेत्र २ बाट विजयी भएको एक सय दिन पुगेको अवसरमा पुरानो मेडिकल कलेजको एम्बुलेन्सलाई निलो रंगको बनाएर यही साउन १७ गतेदेखि मोबाइल क्लिनिक सन्चालनमा ल्याएको घोषणा गरेका थिए । तर, गैरकानूनी रूपमा रङ परिवर्तन गरेको र ‘एम्बुलेन्स’ लेखेको मेटाएर ‘मोबाइल क्लिनिक’ लेखेको भन्दै यो विवादमा परेको थियो ।

भारतीय दूतावासले उक्त एम्बुलेन्स आजभन्दा ११ वर्ष अगाडि पुरानो मेडिकल कलेजलाई दिएको थियो । लामो समयदेखि नवीकरणसमेत नगरिएको उक्त एम्बुलेन्स गत साउन १४ गते जरिमाना तिरेर नवीकरण गरी मोबाइल क्लिनिको रुपमा सन्चालमा ल्याएको घोषणा गरिएको थियो । मोबाइल क्लिनिकका लागि चिकित्सकसहितको जनशक्ति पनि पुरानो मेडिकल कलेजले नै व्यवस्था गरिदिएको थियो ।