१० कार्तिक २०८१, शनिबार 1729987445
Banner

बाढी र वर्षाका कारण कहाँ–कहाँ के भयो ?

काठमाडौं । सङ्घीय राजधानी काठमाडौँ उपत्यकामा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार गए रातिदेखि काठमाडौँमा निरन्तर वर्षा भइरहेको छ ।

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेकाले अझै केही दिन देशैभर मनसुनी वर्षा हुने महाशाखाले जनाएको छ । यसका साथै नेपालमा मनसुनी वायुको साथै भारतको बिहार आसपास रहेको न्यूनचापीय प्रणालीको पनि प्रभाव रहेको छ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

यसैबीच काठमाडौँ उपत्यकामा भारी वर्षाका कारण नदी र खोलामा बाढी आएको छ । बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गर्दै बाढीले जलसतह बढ्दो क्रममा रहेकाले बिहान ११: ०० बजेसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाका अनुसार बिहान ६:०० बजे काठमाडौँ उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपास क्षेत्रमा भारी वर्षा भएको छ । जसका कारण विष्णुमती, धोबीखोला, मनोहरालगायतमा जलसतह बढ्दो क्रममा रहको र सतर्कतामा पुगेकाले नदी तटीय क्षेत्रमा रहने र नदी किनारको सडकबाट यात्रा गर्नेहरूले उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ । काठमाडौँमा आज बिहानैदेखि वर्षा जारी रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशको केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मधेस, बागमती र गण्डकी प्रदेशका थोरै तथा कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । मधेस र बागमती प्रदेशमा एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घन्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले मधेस, बागमती र गण्डकी प्रदेशका थोरै तथा कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको तथा मधेस, बागमती प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी पहिरो, भू–क्षय तथा हावाहुरीजस्ता प्रकोप हुनसक्ने भएकाले जनस्वास्थ्य, कृषि दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपाउन महाशाखाले अनुरोध गरिएको छ ।

अबिरल वर्षाका कारण काठमाडौँका विभिन्न क्षेत्र जलमग्न
अविरल वर्षाका कारण काठमाडौँका विभिन्न क्षेत्रमा डुबान भएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण यहाँका विभिन्न क्षेत्रमा डुबान हुनुका साथै जलमग्न भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

भारी वर्षात्का कारण काठमाडौँ उपत्यकाका ढुङ्गेधारा क्षेत्र, गौरीघाट, गुह्ेश्वरी, कपन, सामाखुसी, अनामनगरलगायतका क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताए । उनले भने, ‘भारी वर्षाले काठमाडौँका विभिन्न क्षेत्र डुबानमा परेका छन्, डुबान भएका क्षेत्रमा हाम्रो प्रहरी टोली बिहानैदेखि खटिएको छ, सचेतनाका लागि बागमती र मनोहरा खोला आसपासको क्षेत्रमा नियमित पट्रोलिङ गर्ने र माइकिङ भइरहेको छ ।’

यसैगरी भारी वर्षाका कारणसडक, घर, विद्यालय क्षेत्र जलमग्न हुँदा जनजीवन प्रभावित भएको छ । काठमाडौँ उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट आसपासमा भारी वर्षा भएका कारण उपत्यका भएर बग्ने खोला तथा नदीमा पानीको बहाव बढेको प्रहरीले जनाएको छ । विष्णुमती, धोबीखोला, मनोहरालगायतमा जलसतह बढेकाले बिहान ११ः०० बजेसम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

बाढीकै कारण काठमाडौँको सामाखुसीको रेडन कलेज आसपासका बस्ती, कपनको निलो पुल र मुलपानी क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । अबिरल वर्षाका कारण उपत्यकाका नदी अझै बढ्ने आकलन गरेर ठाउँ–ठाउँमा प्रहरी टोली परिचालन गरी सचेतना अपनाउन आम नागरिकलाई आग्रह गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक कार्कीले जानकारी दिए ।

सडक भासिँदा पृथ्वीराजमार्ग अवरुद्व

काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको दमौली(डुम्रे सडकखण्ड अवरुद्व भएको छ । व्यास नगरपालिका–१२ स्थित छिर्कने नजिक मङ्गलबार दिउँसो सडक भासिँदा अवरुद्व भएको हो । सडक अवरुद्व बनेपछि राजमार्ग भएर गुड्ने सवारीसाधन रोकिन पुगेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

हाल मोटरसाइकल र एम्बुलेन्सका लागि मात्रै आवतजावतको व्यवस्था मिलाइएको तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अवदेश बिष्ट क्षेत्रीले जानकारी दिए ।

घटनास्थलमा पुगेका प्रहरीले सडक सञ्चालन गर्न समय लाग्ने देखिएको जानकारी गराएको उहाँले बताए । ठूला सवारीसाधन आवतजावतमा समस्या हुने देखिएकाले वैकल्पिक मार्ग प्रयोग गर्न तनहुँ प्रहरीले आग्रह गरेको छ ।

नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा
नारायणगढ(मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । दुई ठाँउको पहिरो पन्छाएपछि बिहान ९ः३० बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको हो ।

आज बिहान करिब ५:२० बजेको समयमा इच्छाकामना गाउँपालिका–६ कालिखोला नजिक माथिबाट लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको हो । सो पहिरो आएको केही समयपछि पाँच सय मिटर नजिकमा रहेको टोपेखोलामा पनि पहिरो गएको थियो । दुवै ठाँउको पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए ।

दुईतर्फी सडक सञ्चालनका लागि सडक डिभिजन कार्यालयको एक्साभेटर प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको उनले बताए । सडक एकतर्फी सञ्चालनमा आएसगै रोकिएका सवारीसाधन र यात्रुहरु गन्तव्यतर्फ लागेका छन् । नारायणगढ–मुग्लिन सडक खण्ड पटक–पटक अबरुद्ध हुँदा यात्रुले सास्ती खेप्दै आएका छन् । यो सडकखण्ड राजधानी काठमाडौँ र पोखरा सहरलाई तराईसँग जोड्ने मुख्य राजमार्ग हो ।

बाढीबाट गोदावरीधामका मठमन्दिरमा क्षति
गए रातिको वर्षासँगै कैलालीको गोदावरी नदीमा आएको बाढीले गोदावरीधाम परिसरमा रहेका मठमन्दिरमा क्षति पुर्याएको छ ।

नदीमा आएको बाढीले धाम परिसरमा श्राद्ध गर्न बनाइएको कुण्ड, पिण्डस्थलका साथै श्रीयन्त, विष्णु मन्दिर, शिवमन्दिर, बटुक बस्ने घरलगायतका संरचनामा क्षति पुर्याएको छ । धेरै संरचना बाढीले बगाएर ल्याएको काठ, ढुङ्गा र बालुवाले पुरिएका छन् । बाढीले धाम परिसरमा जडान गरिएको सोलार बत्तीका साथै नदीको कतिपय भागको तटबन्धनमा पनि क्षति पुर्याएको छ । धाम विकास समितिका पदमराज जोशीले राति नदीमा आएको बाढीले धाम परिसरमा क्षति पुर्याएको बताए ।

धाममा बस्दै आएका बटुक खगेन्द्र बिनाडीले बेलुकी आरती गर्ने समयमा नदीमा अचानक बाढी आउँदा क्षति पुर्याएको बताए । बाढीपछि जोखिममा परेका बटुक र सन्त महन्तलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय युवाको संयुक्त पहलमा उद्धार गरिएको थियो । बाढीले धाम आसपासमा रहेका पशुचौपाया बगाएको जनाइएको छ ।

बाढीसँगै गोदावरी नदीमाथि धातु र काठ प्रयोग गरी झन्डै छ दशकअघि बनेको पुल छेउमा कटान गरेको छ । यो पुल जीर्ण बन्दै गएपछि केही वर्षअघि सोही ठाउँमा पक्की पुल निर्माण गरिएको थियो । सडकमार्गबाट सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला प्रवेश गर्ने मुख्यद्वार र प्रदेशको प्रमुख तीर्थस्थलका रूपमा रहेको यो धामक्षेत्र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिन्छ । यहाँ प्रत्येक वर्ष माघ १ गते लाग्ने मकर सङ्क्रान्ति मेलामा नेपाल तथा भारतका भक्तजन स्नान र पूजा गर्न पुग्ने गर्दछन् ।

यसैबीच वर्षासँगै धनगढी–डडेलधुरा (भीमदत्त) राजमार्गअन्तर्गतको बुढीतोला सडकखण्ड ठाउँ–ठाउँमा भासिँदा यातायात आवागमन अवरुद्ध भएको छ ।

मकवानपुरमा पहिराले घर बगाउँदा एक जनाको मृत्यु, छ जना बेपत्ता
मकवानपुरको बागमती गाउँपालिका–५ सिग्रे देभानमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ भने तीन बालबालिकासहित छ जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बागमती–५ सिग्रे देभानका अक्कलबहादुर स्याङतानको घर पहिराले पुरिएको हो । पहिरामा परी ज्यान गुमाउनेमा अक्कलबहादुरकी श्रीमती ५५ वर्षीया सन्तमाया स्याङतान रहेको प्रहरीले जनाएको छ ।

अक्कल बहादुर, उनका छोरी शिला स्याङतान, ज्वाइँ जीवन पहरी ,नाति चार वर्षीय मिलन पहरी, डेढ वर्षीया नातिनी दिव्या पहरी र पाहुना सिन्धुली हरिहरपुरका १६ वर्षीया पासाङ पहिरामा पुरिएर बेपत्ता भएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी पुगेर उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले बताए ।

पहिराले मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध
अबिरल वर्षाका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । अबिरल वर्षाका कारण लोकमार्गको बागलुङ–बुर्तिबाङ सडकखण्डअन्तर्गत काठेखोला गाउँपालिका–६ इनारपानी र करिडोरको बागलुङ नगरपालिका–गलुवामा पहिरो झर्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।

मध्यपहाडी लोकमार्गमा एकतर्फी सडक सञ्चालन गर्ने तयारी गरिएको उहाँको भनाइ छ । गलुवाको पहिरो हटाएर करिडोर सञ्चालन गर्न जेसिबी पठाए पनि त्यसले सडक खुलाउन नसकेको प्रहरी नायब उपरीक्षक केसीले बताउनुभयो । उक्त सडक खुलाउन ठूलो डोजर नै पठाउनुपर्ने भएकाले पालिका केही समय लाग्ने जानकारी दिएको उनको भनाइ छ ।

‘वर्षा ठूलो भयो, राति पहिरो गएपछि दुईवटै सडक अवरुद्ध छन्, सडक खुलाउने प्रयास भएको छ, मध्यपहाडी लोकमार्ग केहीबेरमा सञ्चालनमा आउने देखिएको छ भने करिडोर खुलाउन केही समय लाग्छ, निकै ठूलो पहिरो गएको हुँदा पन्छाउन ठूलो मेसिन चाहिन्छ,’ उनले भने, ‘अहिले वर्षा कम भएको छ, मेसिनले काम सुरु ग¥यो भने करिडोर दिउँसोसम्म खुल्ला ।’

करिडोर अवरुद्ध हुँदा जिल्ला सदरमुकामबाट दक्षिण बागलुङको जैमिनी, बलेवा, बरेङलगायतका क्षेत्र सीधा यातायात हुनसकेको छैन भने लोकमार्ग अवरुद्ध हुँदा बुर्तिबाङ, गलकोटबाट काठमाडौँ, पोखारा, चितवन, बागलुङलगायतका ठाउँमा जाने गाडी सडकमै रोकिएका छन् । बागलुङ बजारबाट पश्चितर्फ सञ्चालन हुने गाडी पनि सडकमै ठप्प भएका छन् भने यात्रु बीचबाटोमा अलपत्र परेका छन् ।

पहिरोका कारण कान्तिलोकपथ र मदन भण्डारी मार्ग अवरुद्ध
मकवानपुरमा झरीका कारण पहिरो जाँदा हेटौँडालाई काठमाडौँसँग जोड्ने दुई छोटा राजमार्ग अवरुद्ध भएका छन् । पहिराका कारण कान्तिलोकपथ र मदन भण्डारीमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

गए राति मकवानपुरको भीमफेदी गाउँपालिका–२ ज्यालटारस्थित मदन भण्डारीमार्ग हेटौँडा–भैसे–भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा पहिराका कारण बाटो अवरोध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । । वर्षाका कारण पहिरो खसेर बाटो अवरोध भएको भन्ने जानकारी प्राप्त हुनासाथ उक्त स्थानमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा टोली खटिगएको तथा रातिमा पानी परिरहेकाले पहिरो हटाउन सक्ने अवस्था नरहेको मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।
त्यस्तै गए राति नै मकवानपुरको बकैया–११ लामराङस्थित कान्तिलोक पथ सडकखण्डमा वर्षाका कारण पहिरो खसी दुवैतर्फी बाटो अवरोध भएको प्रहरीले जनाएको छ । उक्त स्थानमा प्रहरीले पहिरो हटाउनका लागि सडक विभागसँग समन्वय गर्दा जोखिमका कारण राति पहिरो हटाउन नसक्ने जानकारी प्राप्त भएको प्रहरी प्रवक्ता कार्कीले बताए ।

राहुघाट–तातोपानी सडकखण्डमा रातको समयमा यातायात आवागमन बन्द
बेनी–जोमसोम सडकको राहुघाट–तातोपानी खण्डमा रातमा सवारी आवागमन बन्द गरिएको छ । यस खण्डको बैसरीलगायतका क्षेत्रमा पहिरो गई बारम्बार यातायात अवरुद्ध हुन थालेपछि रातको समयमा सवारी आवागमन बन्द गरिएको हो ।

सोमबार जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाको अध्यक्षतामा बसेको सर्वपक्षीय समन्वय बैठकले ठाउँठाउँमा पहिराको कारण दैनिकजसो सडक आवागमन अवरुद्ध हुने गरेको र जनधनको समेत क्षति हुने जोखिम रहेकाले वर्षायामभरि रातिको समयमा यातायात आवागमन नगर्न अनुरोध गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तले जानकारी दिए ।

रघुगङ्गा गाउँपालिका–२ बैसरीको अँधेरीखोलामा निरन्तर पहिरो खस्न नरोकिएको र पहिरो खसेर सडक अवरुद्ध हँुदा धेरै सर्वसाधारण र यात्रु अलपत्र पर्ने समस्या आउन थालेपछि रातको समयमा सवारी आवागमनलाई रोक्ने निर्णय गरिएको उहाँले बताए । रातको समयमा अत्यावश्यक यात्रा गर्नुपरेमा सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधिलाई खबर गरेरमात्रै आवातजावत गर्नसमेत आग्रह गरिएको छ ।

त्यसैगरी बैसरी पहिरो रोकथामका लागि पहिरो खस्न सुरु भएकै ठाउँमा एक्साभेटर मेसिन प्रयोग गेरेर संरक्षण र रोकथामका संरचना निर्माण गर्न कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला सडक योजना)लाई अनुरोध गर्ने र सो कार्यका लागि जिल्ला समन्वय समिति, जिल्लास्थित सुरक्षा निकाय, रघुगङ्गा गाउँपालिका, डिभिजन वन कार्यालयले आवश्यक समन्वय तथा सहजीकरण गर्ने निर्णयसमेत भएको जिसस प्रमुख राजकुमार थापाले बताए ।

बैसरीको अँधेरीखोलामा निरन्तर पहिरो खस्न थालेपछि गत शनिबारदेखि बेनी–जोमसोम सडकखण्डमा सिधा सवारी अवरुद्ध बनेको छ । सडकमाथिको डाँडा र पाखाबाट निरन्तर पहिरो खस्न थालेपछि सडक अवरुद्ध भएकाले सडकमा सयौँ सवारीसाधन लाम लागेका छन् । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले भूमिगत पानी र भिरमाथिको पाखोबाट सडकमा पहिरो खसिरहने भएकाले सडक सञ्चालन गराउन समस्या भएको जानकारी दिनुभयो ।

बेनी–जोमसोम सडकमा सिधा सवारी अवरुद्ध बनेसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका र सिङ्गो मुस्ताङवासीलाई सास्ती भएको छ भने मुस्ताङको भ्रमणमा आएका पर्यटक र मुक्तिनाथको दर्शनका लागि आएका तीर्थयात्रीसमेत बीच बाटैमा अलपत्र परेका छन् । गत वर्षदेखि अँधेरीखोलाको भिरबाट पहिरो खस्न थालेको थियो । यस क्षेत्रमा यसअघि पहिरो खस्दा गुडिरहेका सवारीसाधनमा क्षति पुर्याउनुका साथै र यात्रुलाई समेत चोटपटक लागेको थियो ।

Tags :