२७ भदौ २०८३, शनिबार 1789246829
Banner

सिरहामा मिटरब्याजको आरोपमा एक महिला पक्राउ

जनकपुरधाम । सिरहामा मिटरब्याजको आरोपमा एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा मिर्चैया नगरपालिका ६ की ३५ वर्षीया सुजाता साह छन्।

इलाका प्रहरी कार्यालय मिर्चैयाको टोलीले साहलाई बुधवार साँझ पक्राउ गरेको हो। अनुचित लेनदेन सम्बन्धी मुद्दामा अदालतको आदेशको आधारमा उनलाई पक्राउ गरिएको सिरहाका प्रहरी प्रमुख एसपी टेकुनन्द इवा लिम्बुले जानकारी दिए।

ममता देवी रायले दर्ता गराएको मुद्दामा साह पक्राउ परेको बुझिएको छ। उनीमाथि प्रहरी र जिल्ला प्रशासन कार्यालयमा दर्जनौँ बढी उजुरी दर्ता छ।

मिर्चैया क्षेत्रमा साह लामो समयदेखि चर्को मिटरब्याजमा लगानी गर्दै आएकी हुन्। उनका श्रीमान् (नाम नखुलेको) ले मिर्चैयामा कपडा पसल चलाउँछन्।

कानून विपरीत सयकडा ३६ प्रतिशत ब्याजमा लगानी गर्ने र कतिपय व्यक्ति ऋण चुक्ता गर्दा पनि कपाली नदिने, हरहिसाब पनि गलत ढंगले गर्ने गरेको उनीमाथि पीडितहरूले आरोप लगाएका छन्।